काठमाडौं । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु प्रयोग गर्न दिन भारतले प्रस्ताव गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचार गलत रहेको भारतीय स्रोतले जनाएको छ ।
‘त्यस्तो कुनै प्रस्ताव छैन,’ भारतीय स्रोतले आइतबार स्पष्ट पार्दै सैन्य विमान सञ्चालनका लागि नेपालसँग अनुमति मागिएको भन्ने समाचारको खण्डन गरेको हो । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२ देखि २३ सम्म हुने भारत भ्रमणअघि दुई देशबीच हवाई सम्पर्क विस्तारका विषयमा छलफल हुने समाचार सार्वजनिक भएका थिए ।
ती समाचारमा भारतले पश्चिम बंगालस्थित बागडोगरा विमानस्थलबाट आवतजावत गर्ने नागरिक उडानका लागि नेपालको आकाशमार्ग प्रयोग गर्न चाहेको उल्लेख थियो । तर, सैन्य विमानसम्बन्धी प्रस्ताव गरिएको भन्ने दाबीलाई भारतले अस्वीकार गरेको हो ।
प्रधानमन्त्री शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शाह प्रधानमन्त्री बनेपछि भारतको पहिलो भ्रमण तथा प्रधानमन्त्रीका रूपमा पहिलो द्विपक्षीय विदेश भ्रमण हो । उनी सन् २०२६ मार्चमा प्रधानमन्त्री बनेका थिए ।
भारतीय विदेश मन्त्रालयका अनुसार शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् भने सोमबार प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–भारत सम्बन्धको समग्र समीक्षा तथा क्षेत्रीय र विश्वव्यापी चासोका विषयमा विचार आदानप्रदान हुने बताइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार शाह नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली जानेछन् । उनीसँग अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारसहित ३४ सदस्यीय प्रतिनिधिमण्डल रहनेछ ।
परराष्ट्र सचिव अमृतबहादुर रायले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुई देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने र त्यसपछि संयुक्त पत्रकार सम्मेलन गरिने जानकारी दिएका थिए । भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन् ।
भ्रमणका क्रममा ऊर्जा र सम्पर्क सञ्जालसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन तथा आगामी परियोजनाको शिलान्यास गर्ने तयारी छ । व्यापार, पारवहन, लगानी, ऊर्जा, कनेक्टिभिटी र पूर्वाधार विकासलाई छलफलको प्राथमिकतामा राखिएको छ ।
त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने विषय पनि छलफलमा रहने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा नेपाल–भारत व्यापार मञ्चसमेत आयोजना हुनेछ। उक्त मञ्चमार्फत नेपालमा भारतीय लगानी आकर्षित गर्ने र दुवै देशका व्यवसायीबीच साझेदारीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ ।
भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्ध र जनस्तरको निकटतामा आधारित मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरेको छ । पछिल्लो समय व्यापार, विकास साझेदारी, ऊर्जा, जलस्रोत तथा भौतिक र डिजिटल सम्पर्क सञ्जालका क्षेत्रमा दुई देशबीचको सहकार्य विस्तार हुँदै गएको मन्त्रालयको भनाइ छ ।