• २०८३ मंसिर ६
  • 2026 November 22, Sunday

कटुवा पेस्तोल र गोलीसहित धनुषामा महिला पक्राउ

धनुषा । धनुषामा कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाधाम नगरपालिका–४ स्थित गौरीपुर टोलबाट सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोल निवासी ४० वर्षीया गंगावती महतोलाई पक्राउ गरिएको हो ।

प्रहरीले विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको टोलीले आइतबार बिहान करिब ११ बजे उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार महतोले कम्मरमा कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली एक राउन्ड लुकाएर लैजाँदै गरेको अवस्थामा फेला पारिएको थियो ।

पक्राउ परेकी महिलामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।