• २०८३ मंसिर ९
  • 2026 November 24, Tuesday

पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितकोे अपग्रेडेड एक्सक्लुसिभ स्टोर

पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्रा.लि.ले सञ्चालनमा ल्याएको हो ।

स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध छन् । ग्राहकले यी सबै सामग्री एउटै स्थानबाट अवलोकन तथा खरिद गर्न सक्नेछन् ।

स्मार्टफोन खरिदमा मात्र सीमित नभई ग्राहकलाई शाओमीका विभिन्न प्रविधि र उत्पादनको एकै ठाउँमा अनुभव दिलाउने उद्देश्यले स्टोर स्थापना गरिएको कम्पनीले जनाएको छ । आधुनिक प्रविधिलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउँदै दैनिक जीवनलाई सहज बनाउने शाओमीको अवधारणालाई स्टोरले थप अघि बढाउने विश्वास कम्पनीको छ ।

नेपालमा शाओमीका होम अप्लायन्सेस तथा साना घरायसी विद्युतीय उपकरणको एकमात्र आधिकारिक वितरक टेलिडाइरेक्ट प्रा.लि.ले यस स्टोरमार्फत आफ्नो खुद्रा बजार विस्तारलाई अघि बढाएको हो । कम्पनीले आगामी दिनमा एआईओटी उत्पादन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनरलगायत स्मार्ट होमसम्बन्धी सामग्री थप गर्दै उत्पादनको दायरा विस्तार गर्ने योजना बनाएको छ । पोखरामा खुलेको यो स्टोर भविष्यमा नेपालका अन्य स्थानमा पनि यस्ता एक्सक्लुसिभ स्टोर विस्तार गर्ने योजनाको पहिलो कदम हो ।

टेलिडाइरेक्ट प्रा.लि.का कार्यकारी निर्देशक सञ्जय अग्रवालले शाओमीलाई स्मार्टफोनमा मात्र सीमित नराखी यसका सम्पूर्ण स्मार्ट प्रविधि र उत्पादन उपभोक्तामाझ पुर्‍याउने कम्पनीको लक्ष्य रहेको बताए ।

उनले भने “हाम्रो उद्देश्य शाओमीलाई स्मार्टफोनभन्दा बाहिर पनि विस्तार गर्दै यसका सम्पूर्ण स्मार्ट जीवनशैलीसँग सम्बन्धित उत्पादन उपभोक्ताको नजिक पुर्‍याउनु हो । पोखरा हाम्रा लागि महत्वपूर्ण बजार हो । यहाँ एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याउनु यस दिशामा महत्वपूर्ण कदम हो। ग्राहकले एउटै स्थानमा शाओमीका विभिन्न उत्पादन तथा नवीन प्रविधिको अनुभव लिन सक्ने वातावरण बनाउनु हाम्रो लक्ष्य हो । यो सुरुवात मात्र हो। आगामी दिनमा खुद्रा बजार विस्तार गर्दै नेपालभरका उपभोक्तामाझ शाओमीका थप आकर्षक उत्पादन पुर्‍याउने हाम्रो योजना छ ।”

यस स्टोरको सञ्चालनसँगै शाओमी र टेलिडाइरेक्टले नेपालमा आधुनिक प्रविधि तथा स्मार्ट जीवनशैलीसम्बन्धी उत्पादनलाई थप सहज र सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।