काठमाडौँ । सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो ।
सरकारले यस वर्ष विद्युत चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्न ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल लिएका थिए । उनले चुहावट नियन्त्रणका लागि आवश्यक दक्ष प्राविधिक जनशक्तिको परिचालनदेखि समग्र व्यवस्थापनका लागि आवश्यक निर्देशन र पहल गरेका थिए ।
मन्त्री श्रेष्ठको सक्रियतामा १२.२६ प्रतिशत चुहावट १२.१६ प्रतिशतमा झरेको हो । प्रधानमन्त्री कार्यालयले चुहावट १२.२० प्रतिशतमा झार्न ऊर्जा मन्त्रालयलाई लक्ष्य दिएको थियो । मन्त्री श्रेष्ठको नेतृत्वमा चुहावट लक्ष्यभन्दा ०.४ प्रतिशत बढीले नियन्त्रणमा आएको हो ।
नेपाल विद्युत प्राधिकरणकाअनुसार ०८१/०८२ मा १२.२६ प्रतिशत विद्युत चुहावट ०८२/०८३ मा १२.१६ प्रतिशतमा झरेको हो । चुहावट अझै न्यूनीकरण गर्नेगरी प्राविधिक पक्ष र व्यवस्थापनलाई चुस्त बनाइएको मन्त्री श्रेष्ठले बताए ।
प्राधिकरणकाअनुसार चोरी, मर्मत सम्भारको कमजोरी, लोड म्यानमेन्टका कुराले विद्युत चुहावट हुनेगर्छ । हाल प्राविधिक समस्याहरु आउँदा तत्कालै रेस्पोन्स गरेकाले पनि चुहावट नियन्त्रण हुँदै गएको हो ।
विद्युत नेटवर्क स्तरोन्नति, समयमा मर्मत सम्भार र प्राविधिक पक्षको सुधारलाई आक्रामक रुपमा अगाडि बढाइ चुहावट नियन्त्रणलाई तीव्रता दिइएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारको तथ्यांक हेर्दा दक्षिण एसियामा औसतमा १३.८ प्रतिशत चुहावट रहेको छ ।