• २०८३ मंसिर ११
  • 2026 November 27, Friday

३५ दिनको सूचना अटेर भएपछि त्रिविको फेरि ताकेता, अतिक्रमित जग्गा खाली गर्न सात दिनको समय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वको जग्गा अनधिकृत रूपमा प्रयोग गर्दै आएका संघसंस्था, निकाय तथा व्यक्तिलाई सात दिनभित्र जग्गा खाली गर्न अन्तिम ताकेता गरेको छ। यसअघि ३५ दिनको सार्वजनिक सूचना जारी गर्दा पनि अतिक्रमित जग्गा फिर्ता नभएपछि विश्वविद्यालयले सम्बन्धित पक्षलाई छुट्टाछुट्टै पत्र पठाएर पुनः समयसीमा तोकेको हो।

विश्वविद्यालयको रजिस्ट्रार कार्यालयले दिएको सातदिने समय यही मंसिर १४ गते पूरा हुँदैछ।

त्रिविले विश्वविद्यालयको मूल गेटअगाडि सञ्चालित पेट्रोल पम्प, बागबानी, नर्सरी र राधास्वामी सत्संग केन्द्रलाई जग्गा खाली गर्न पत्राचार गरेको छ। गत वैशाखको पहिलो साता सार्वजनिक सूचना जारी गरेर ३५ दिनभित्र जग्गा फिर्ता गर्न भनिए पनि त्यसको पूर्ण कार्यान्वयन नभएपछि पुनः ताकेता गर्नुपरेको हो।

केही संस्थाले जग्गा फिर्ता गर्ने प्रतिबद्धतासहित पत्र पठाए पनि जग्गा खाली भएको छैन। त्यसैले यसपटक अन्तिम समयसीमा दिएर प्रक्रिया अघि बढाइएको त्रिविको भनाई छ।

सरकारले २०८१ सालमा त्रिविको जग्गा तथा अचल सम्पत्तिको अवस्था अध्ययन गर्न खोजबिन समिति गठन गरेको थियो। समितिले तयार पारेको प्रतिवेदनमा विश्वविद्यालयको करिब २४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमणमा परेको उल्लेख छ।

यसअघि गत कात्तिक १८ गते शिक्षामन्त्री एवं त्रिविका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको अतिक्रमित ७०५ रोपनी जग्गा फिर्ता भएको सार्वजनिक गरेका भएपनि कहाँ कहाँको जग्गा फिर्ता भएको हो भन्ने बताइएको छैन्।