काठमाडौँ। ललितपुरस्थित पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस) कलेजमा अध्ययनरत विद्यार्थीहरूले इन्टर्नशिप, प्राक्टिकल लर्निङ तथा शैक्षिक गतिविधिका नाममा कलेजले अतिरिक्त आर्थिक भार थपेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
कलेजको व्यवस्थापन, भर्ना प्रक्रिया र शैक्षिक गतिविधिप्रति प्रश्न उठाउँदै एक विद्यार्थीले सार्वजनिक गरेको गुनासोअनुसार कलेजले भर्नाका क्रममा पेड इन्टर्नसिप-बिहान कलेज तथा दिउँसो काम, प्राक्टिकल लर्निङ लगायतका आकर्षक आश्वासन दिएको थियो। तर व्यवहारमा भने ती प्रतिबद्धता पूरा नभएको विद्यार्थीहरूको आरोप छ।
विद्यार्थीहरूका अनुसार अपेक्षाअनुसारको व्यावहारिक ज्ञान र सीप हासिल गर्ने अवसर प्राप्त हुन सकेको छैन। इन्टर्नशिपका नाममा कलेजभित्रै सीमित राखिएको र वास्तविक कार्यक्षेत्रको अनुभवबाट वञ्चित गरिएको विद्यार्थीहरूको गुनासो छ।
नाम नखुलाउने शर्तमा एक विद्यार्थी भन्छन्, ‘इन्टर्नशिपका नाममा +2 उत्तीर्ण गरेका विद्यार्थीहरूको डाटा किनेर हामीलाई कल सेन्टरबाट फोन गर्न लगाइन्छ। हाम्रो काम उनीहरूलाई फोन गरेर कलेज भिजिटमा बोलाउने र भर्ना गराउने मात्र रहेछ। के विद्यार्थीहरूलाई यही काम सिकाउन कलेजले प्राक्टिकल लर्निङ र इन्टर्नसिपको आश्वासन दिएको हो?’
त्यस्तै, शिक्षकहरूको अवस्था र कक्षाकोठामा हुने शैक्षिक गतिविधिप्रति पनि विद्यार्थीहरूले असन्तुष्टि जनाएका छन्। शिक्षकहरूले दिएको असाइनमेन्ट तथा कक्षागत गतिविधि प्रभावकारी नभएको र विद्यार्थीले अपेक्षित शैक्षिक सहयोग पाउन नसकेको आरोप लगाइएको छ।
यसबाहेक, भर्ना प्रक्रियामा समेत आर्थिक चलखेल हुने गरेको अर्का एक विद्यार्थीको गुनासो छ। उनका अनुसार भर्ना गराउने व्यक्तिअनुसार कमिसन तथा आर्थिक लाभको विषय जोडिने गरेको छ। एउटै सेमेस्टरमा भर्ना हुने विद्यार्थीबीच शुल्कमा समेत ठूलो अन्तर देखिएको उनको आरोप छ। यसले कलेजको भर्ना प्रणाली र शुल्क निर्धारण प्रक्रियामा पारदर्शिताको प्रश्न खडा गरेको छ।
विद्यार्थीले आफ्नो परिवारले भविष्य निर्माणको आशामा लाखौँ रुपैयाँ खर्च गरेर कलेजमा भर्ना गराए पनि गुणस्तरीय शिक्षा, पर्याप्त व्यवहारिक ज्ञान र वास्तविक कार्यानुभव प्राप्त गर्न नसकेको गुनासो गरेका छन्।
‘हामीले पैसा तिरेर गुणस्तरीय शिक्षा र व्यावहारिक ज्ञान प्राप्त गर्ने अपेक्षा गरेका थियौँ। तर अहिले आएर न पढाइबाट सन्तुष्ट छौँ, न त इन्टर्नशिपबाट नै अपेक्षित उपलब्धि हासिल भएको छ,’ विद्यार्थीको गुनासो छ।
यो बेडफोर्डशायर विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज हो। यो निम्न गुणस्तरको विश्वविद्यालयमध्येको एक हो।
बेडफोर्डशायर विश्वविद्यालय विश्वभरका विश्वविद्यालयहरुको स्तर मापन गर्ने प्रतिष्ठित ‘क्युएस वल्ड युनिभर्सिटी र्याङकिङ’ को सूचीमै छैन भने ‘टाइम्स हायर एडुकेसन’ को ‘वल्ड युनिभर्सिटी र्याङकिङ’ मा समेत १२०१ देखि १४००औँ स्थानमा छ ।
सरकारले जारी गरेको विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ ले विदेशी सम्बन्धन लिएर सञ्चालन हुने कलेजले सम्बन्धन लिएको विश्वविद्यालय क्युएस वल्ड युनिभर्सिटी र्याङकिङ वा टाइम्स हायर एडुकेसनको वल्ड युनिभर्सिटी र्याङकिङ जस्ता विश्व र्याङकिङको वरियताक्रममा १००० भित्र पर्नुपर्ने व्यवस्था गरेको छ । पीसीपीएस कलेज सरकारले तय गरेको यस मापदण्डभित्र समेत पर्दैन ।
यी विषयमा सम्पर्क गर्दा कलेजका अध्यक्ष पंकज जलानसँग सम्पर्क हुन सकेन।