• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

रहेनन् लोकगायक जयनन्द लामा

काठमाडौं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।

मंगलबार राति एक पार्टीमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको छ । बा३च ७७४१ नंको कार लामा आफैले हाँकेर घर नजिकै पार्किङ गरेको पाइएको छ । शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उनको परिवारलाई जानकारी गराएका थिए ।

लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशील थिए ।

‘कलकत्ते काइँयो केश मेरो बाङ्गोे, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आएका लामाले ‘पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।