• २०८३ असोज १२
  • 2026 September 28, Monday

श्रष्टाले सम्मानबापत पाउने रकममा कर कट्टी नर्गन बैरागी काँइलाको आग्रह 

काठमाडौं । वरिष्ठ साहित्यकार बैरागी काँइलाले साहित्यकार तथा लेखकले साहित्यिक क्षेत्रमा योगदान गरेबापत पाउने सम्मान रकममा कर कट्टी नगर्न आग्रह गरेका छन् ।

नेपाली साहित्यिक पत्रिका मधुपर्क मासिकको ५६ औं वार्षिकोत्सव समारोहमा वरिष्ठ साहित्यकार काँइलाले कतिपय संघ संस्थाले साहित्यकारहरुलाई सम्मान गर्ने क्रममा उनीहरुले पाउने सम्मान रकममा समेत कर कट्टी गरेर दिने गरेको भन्दै पारिश्रमिक र सम्मानको फरक छ्ट्याउनुपर्ने धारणा राखे ।

उनले भने, ‘लेखकले लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिए बापत पाउने सम्मानको रकम पुरस्कार भिन्न कुरा हो । पारिश्रमिक नियमित हुन्छ,त्यसमा ऐन बमोजिमको कर लगाउँदा हुन्छ । पुरस्कारमा केको कर?’

उनले पुरस्कार र सम्मान जस्ता कुरा श्रष्टाले लेखेर अर्जित गर्ने सम्पति भएको बताउँदै उक्त पुरस्कारमा कर लगाउने विषय मुनासिव नहुने भएकाले श्रष्टालाई गरिएको सम्मानबाट पाउने रकममा कर नलगाउन गोरखापत्र संस्थानलाई समेत आग्रह गरे ।

‘एउटा कुरा के हो भने गोरखापत्रले तोकेको पुरस्कार रकम दिनुपर्छ,कर कट्टी गर्ने रकम उहाँहरुको आफ्नै खाताबाट कटाउँदा हुन्छ । अर्को कुरा नेपाल सरकारलाई साहित्यकारहरुले कति कर दिनुपर्ने हो?१५प्रतिशत होकि २५ प्रतिहत हो?व्यवस्थापनले यो कुरा हेरे सबैलाई राम्रो हुन्छ ।’ काँइलाले भने ।

उनले लेखेर पाउने पारिश्रमिकमा पनि कर लगाउने विषयलाई लिएर गोरखापत्र संस्थानलाई स्पस्ट पार्न समेत आग्रह गरे ।

मधुपर्क मासिकको ५६ औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा कलम चलाएर योगदान पु¥याएबापत तीन श्रष्ठालाई सम्मान गरिएको छ ।