• २०८३ असोज १२
  • 2026 September 28, Monday

महाकवि देवकोटा घर मन्त्रालयलाई बुझाउनुपर्छ: कुलपति राई

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई औपचारिक संग्रहालयका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मा लगाउनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित देवकोटाको ११७ औँ जन्मजयन्तीको अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा कविता वाचन कार्यक्रममा बोल्दै कुलपति राईले हाल नेपाल प्रज्ञा प्रतिष्ठानले ‘घुमाउरो तरिकाले’ देवकोटाको संग्रहालय सञ्चालन गरिरहेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘लक्ष्मीप्रसाद देवकोटाको यो घर अहिले प्रज्ञा प्रतिष्ठानको सम्पत्ति हो, तर यो मन्त्रालयको सम्पत्ति हुनुपर्छ । संग्रहालय भनेको राज्यको सम्पत्ति हो र राज्यले नै संरक्षण गर्ने हो । पुरातात्त्विक सम्पदालाई जोगाएर मात्र संग्रहालय बन्छ ।’

राईले आफूले संग्रहालय मन्त्रालयलाई बुझाउन पहल गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताए । ‘मैले धेरैपटक पहल गरेँ, हामीले चलाउने होइन भनेर भनेँ, तर त्यसको सुनुवाइ भएको छैन,’ उनले भने ।

कार्यक्रममा उनले देवकोटाको योगदानलाई स्मरण गर्दै यस्ता व्यक्तित्वको धरोहरलाई राज्यकै जिम्मामा राख्नुपर्नेमा जोड दिएका थिए