• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं । अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । यस सिरिजको निर्देशन बिमलेश अधिकारीले गरिरहेका छन्, जसले हालै सामाजिक सञ्जालमार्फत फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिरिजको औपचारिक घोषणा गरेका छन् ।

पोस्टर सार्वजनिक गर्दै बिमलेशले लेखेका छन्, ‘नमस्कार, हाम्रो वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक प्रस्तुत गर्दैछु । यो विदेशबाट नेपाली कथा वाचनमा एउटा महत्त्वपूर्ण कोशेढुंगा हुनेछ । यस पवित्र दिन श्रीकृष्ण जन्माष्टमीको अवसरमा, हामी सृजनशीलता र संस्कृतिको उत्सव मनाउँदै छौँ । यो सपना साकार गर्न सहयोग पुयाउने सबैलाई हार्दिक धन्यवाद । आगामी वेब सिरिजले विश्वभरका मनहरूलाई जोड्नेछ ।’

यस सिरिजबाट नेपाली चलचित्रकी एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्किएकी छन् ।यसमा अरुणिमासहित बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली, र रोजिना थापा लगायतका कलाकारहरूको प्रमुख भूमिका रहनेछ ।
‘घर बट इन अमेरिका’ सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा नै भइरहेको छ ।

सिचुएशनल कमेडी–ड्रामा विधामा निर्माण भइरहेको यो सिरिजलाई विवेक चम्लागाईंको लेखेका छन् । सिरिजमा गोप्य रूपमा लिभ–इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरका घटनाहरूलाई प्रस्तुत गरिएको छ ।