काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कुसुम थापाले पार्टीको आन्तरिक विवाद र कानुनी लडाइँलाई लिएर नेता दीपक खड्कालाई कडा चेतावनी दिएकी छन् । थापाले पूर्वमन्त्री समेत रहेका खड्कालाई ‘पैसा छ भन्दैमा अदालतका कर्मचारीदेखि श्रीमान् (न्यायाधीश) सम्म मिलाएको छु’ भन्दै भ्रम फैलाएको आरोप लगाउँदै त्यसो नगर्न सचेत गराएकी हुन् ।
कांग्रेसको आधिकारिकता विवादमा नेता खड्काले संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) का तर्फबाट सर्वोच्च अदालतमा मुद्दा लैजान सक्रिय भूमिका खेल्दै आएका छन् । हालै सर्वोच्चबाट पुनरावलोकनको निस्सा पाएपछि सभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै अर्को मुद्दा दायर गरेकै बेला थापाको यस्तो टिप्पणी आएको हो ।
सामाजिक सञ्जालमार्फत नेता खड्कालाई सम्बोधन गर्दै थापाले लेखेकी छन्, ‘राजनीतिक लडाइँ राजनीतिक तरिकाले लड्नुपर्छ र कानुनी लडाइँ कानुनी तरिकाले । तपाईँहरूले राजनीतिक कुरालाई बारम्बार कानुनी बनाउनुभएको छ, त्यो पनि केही छैन, हामी सामना गर्छौँ ।’
उनले नेता खड्काले विभिन्न ठाउँमा आफूले अदालतमा ‘सेटिङ’ मिलाएको भन्दै हिँडेको दाबी गरेकी छन् । थापाका अनुसार खड्काले ‘पहिले म जेलमा भएको बेला मुद्दा परेकाले उनीहरूले आधिकारिकता पाएका हुन्, नत्र म मेरो मुद्दाजस्तै सेटिङ गर्थेँ’ भन्ने गरेको जिकिर गरेकी छन् ।
थापाले खड्काको भनाइ उद्धृत गर्दै अगाडि लेखेकी छन्, ‘अहिले तपाईँले फलानी–फलानो श्रीमानलाई राति भेटेको छु, उनीहरूका मान्छे भेटिसकेँ, स्टे (अन्तरिम आदेश) पनि आउँछ, आधिकारिकता पनि आउँछ भन्नुभएको रहेछ । तर छ भन्दैमा अदालतका कर्मचारीदेखि श्रीमानसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला ।’
नेता खड्कासँग अथाह पैसा रहेको चर्चा गर्दै थापाले एक वर्षअघिको ‘जेनजी’ आन्दोलनको बेला घरबाट पैसा उडेको भिडियो आफूहरूले पनि देखेको उल्लेख गरेकी छन् । ‘थाहा छ तपाईँसँग धेरै पैसा छ… तर तपाईँको यस्तो व्यवहारले सोझा मान्छेको न्यायालयप्रतिको विश्वसनीयता घट्छ,’ उनले भनेकी छन्, ‘न्यायालयको गरिमा जोगाउने जिम्मा तपाईँ–हामी सबैको हो ।’
कांग्रेसभित्र गगन थापा नेतृत्वको कार्यसमितिको वैधानिकतालाई लिएर लामो समयदेखि विवाद चल्दै आएको छ । निर्वाचन आयोग र सर्वोच्चको संयुक्त इजलासले यसअघि थापा नेतृत्वलाई सदर गरे पनि देउवा पक्षले पुनरावलोकन निवेदन दिएपछि यो विषय फेरि न्यायिक परीक्षणको घेरामा तानिएको छ । यस्तो संवेदनशील घडीमा केन्द्रीय सदस्य थापाको यो कडा प्रहारले कांग्रेसभित्रको आन्तरिक कलह र सेटिङको चर्चालाई थप सतहमा ल्याइदिएको छ ।
यो पनि :
देउवा र खड्काले सर्वोच्चमा बुझाए महाधिवेशन रोक्ने रिट
कांग्रेस महाधिवेशन रोक्न अदालतमा ‘सेटिङ’ : पूर्वमन्त्री खड्काले जिम्मा लिएको चर्चा !