धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ फेला पारी तोडफोड गरेर नगद लैजाने २९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १२ गते गजुरी गाउँपालिका–७ गलौदीस्थित त्रिशूली नदीको किनारमा बाढीले बगाएर ल्याएको सेफ फेला पारेका स्थानीय व्यक्तिहरूले सेफ तोडफोड गरी नगद लागेको गरेको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
प्रहरीले तत्काल परिचालन भई खोजतलास गर्दा प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिएर उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ । बरामद रकमको स्रोत तथा घटनामा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गल्छी गाउँपालिका–४ मास्टर बस्ने २७ वर्षीय पवन पौडेल, ४१ वर्षीय वीरबहादुर राना मगर, ३५ वर्षीय विनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पूर्णलाल श्रेष्ठ, ३९ वर्षीय विष्णुमणि अधिकारी, ३६ वर्षीय कृष्ण मगर, ४१ वर्षीय शिवबहादुर राना मगर, ४६ वर्षीय युवराज अधिकारी, ४७ वर्षीय कुशान्त श्रेष्ठ, ४६ वर्षीय सुचिनबहादुर राना मगर, २४ वर्षीय सचिन श्रेष्ठ, ४३ वर्षीय प्रेमबहादुर राना मगर र २९ वर्षीय अनिल भेटुवाल रहेका छन् ।
त्यस्तै ४२ वर्षीय रामशरण सुवेदी, ३८ वर्षीय मिनबहादुर राना मगर, ३३ वर्षीय लोकेन्द्र राना मगर, ३२ वर्षीय दीपक तामाङ, ३६ वर्षीय राजकुमार भेटुवाल, २९ वर्षीय दिनेश अधिकारी, ३० वर्षीय दिनेश पलामी, ३० वर्षीय टेकबहादुर राना मगर, ३२ वर्षीय सन्तोष श्रेष्ठ, सिमपानी बस्ने ३६ वर्षीय सनुभाई श्रेष्ठ, सिद्धलेक गाउँपालिका–७ आदमघाट बस्ने ४२ वर्षीय सानु खातीवडा, चितवन राप्ती नगरपालिका–६ घर भई हाल धादिङ गजुरी गाउँपालिका–६ आदमघाट बस्ने २२ वर्षीय विचारी आले मगर, ३२ वर्षीय नारायण श्रेष्ठ, २० वर्षीय अग्नि आले मगर र पर्सा बहुदरमाई नगरपालिका–१ घर भई हाल धादिङ गजुरी गाउँपालिका–६ आदमघाट बस्ने २६ वर्षीय सकुर अन्सारी पक्राउ परेका छन् ।
प्रहरीले बरामद नगदको स्रोत र घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।