• २०८३ कार्तिक १८
  • 2026 November 04, Wednesday

रिपब्लिकनको हारपछि मस्कको टिप्पणी- अन्तरिक्षीय लेजर प्रविधिले काम गरेन !

काठमाडौँ । अमेरिकी मध्यावधि निर्वाचनको नतिजा सार्वजनिक हुन थालेपछि अर्बपति व्यवसायी एलन मस्कले अन्तरिक्षमा तथ्यांक केन्द्र निर्माण गर्ने विषय आकर्षक लाग्न थालेको बताएका छन् ।

मस्कले सामाजिक सञ्जाल एक्समा दुईवटा टिप्पणी सार्वजनिक गरेका थिए । पहिलो टिप्पणीमा उनले अन्तरिक्षमा डाटा सेन्टर बनाउनु अहिले निकै आकर्षक विकल्प भएको उल्लेख गरेका छन् । दोस्रो टिप्पणीमा उनले यसपटकको निर्वाचनमा हस्तक्षेप गर्न प्रयोग गरिएको भनिएको आफ्नो अन्तरिक्षीय लेजर प्रविधिले काम नगरेको भन्दै व्यङ्ग्य गरेका छन् ।

अमेरिकी निर्वाचन अभियानका क्रममा मस्क रिपब्लिकन पार्टीका प्रमुख समर्थकमध्ये एक थिए । उनले विशेषगरी टेक्सासमा एक करोड ५० लाख अमेरिकी डलरभन्दा बढी खर्च गरेको समाचारमा उल्लेख छ। यसअघि पनि सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा मस्कमाथि निर्वाचन प्रक्रियालाई प्रभावित पार्न खोजेको आरोप लागेको थियो ।

यसपटकको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले महत्त्वपूर्ण सफलता हासिल गरेको छ । पार्टीले सिनेटमा ५३ सिट जित्दै बहुमत प्राप्त गरेको छ भने थप नजिता आउनेक्रममा छ । रिपब्लिकन पार्टीका केही महत्त्वपूर्ण सिटसमेत डेमोक्रेटिक उम्मेदवारले जितेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि डेमोक्रेटिक पार्टीको सफलताका लागि बधाई दिएका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भइरहेका बेला राष्ट्रपति ट्रम्पको सामाजिक सञ्जालमा गरिएको अर्को टिप्पणी पनि चर्चामा आएको छ । उनले आफू अब राजनीतिक विश्लेषक बन्न लागेको उल्लेख गर्दै निर्वाचनमा उम्मेदवारहरू किन विजयी भए वा पराजित भए भन्ने विषयमा सकारात्मक र नकारात्मक दुवै पक्षबाट आफ्नो धारणा राख्ने बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा यस्तो टिप्पणी गरेका हुन् ।

यसैगरी, ट्रम्पले ‘भिटो’ लेखिएको रातो टोपीको तस्बिरसमेत सार्वजनिक गरेका छन् । निर्वाचनमा रिपब्लिकन पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेपछि मस्क र ट्रम्पका टिप्पणीलाई अमेरिकी राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।