काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव तथा जलवायु वित्तको अवस्थाबारे अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले सांसद सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो। सदस्यहरूमा नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा। पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्पा कुमारी चौधरी र सुशान्त वैदिक रहेका छन्।
उपसमितिले बाढीबाट भएको आर्थिक तथा भौतिक क्षति, पुनःस्थापनाको आवश्यकता, समग्र अर्थतन्त्रमा परेको असर र जलवायुजन्य विपद् व्यवस्थापनका लागि आवश्यक वित्तीय स्रोतबारे अध्ययन गर्नेछ। आवश्यकताअनुसार प्रभावित क्षेत्रमा स्थलगत अनुगमनसमेत गर्न सक्ने कार्यादेश दिइएको छ।
त्यसैगरी, बाढीपछि सरकारले सञ्चालन गरेका उद्धार, राहत तथा पुनःस्थापनाका काम र विपद्पछिको क्षति तथा आवश्यकता मूल्याङ्कन सम्बन्धी विषयलाई पनि अध्ययनमा समेटिनेछ।
उपसमितिलाई २०८३ असोज २ गतेभित्र समितिमा प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ। प्रतिवेदनमा सम्बन्धित निकायलाई दिनुपर्ने सुझाव तथा आवश्यक निर्देशन समेत समेटिने जनाइएको छ ।