• २०८३ भदौ २७
  • 2026 September 12, Saturday

के हो सामाजिक सञ्जालमा ट्रेण्ड ८० ?

काठमाडौँ । सामाजिक सञ्जालमा अहिले कृत्रिम बौद्धिकताको प्रयोगबाट बनाइएका १९८० को दशकको शैलीका तस्बिर भाइरल भइरहेका छन् । सर्वसाधारणदेखि राजनीतिज्ञ, खेलाडी तथा चलचित्र क्षेत्रका कलाकारसम्मले आफ्ना पछिल्ला तस्बिरलाई पुरानो समयको आकर्षक शैलीमा बदलिरहेका छन् ।

यस क्रममा कृत्रिम बौद्धिकताले व्यक्तिको अनुहार र छालाको रङजस्ता मुख्य पहिचानलाई कायम राख्दै कपालको शैली, पोसाक, चस्मा, गरगहना, पृष्ठभूमि र प्रकाशमा ८० को दशकको झल्को दिने परिवर्तन गर्छ । तस्बिरमा पुरानो क्यामेराबाट खिचिएको जस्तो दाना, हल्का पहेँलो–खैरो रङ र नरम प्रकाशसमेत थपिने गरेको छ ।

यो प्रवृत्तिमा मानिसहरूले आफ्ना तस्बिरलाई पुरानो पारिवारिक तस्बिर, चलचित्रको दृश्य, पत्रिकाको आवरण, विवाहको तस्बिर वा ८० को दशकको चलचित्र तथा नृत्य संस्कृतिको शैलीमा रूपान्तरण गरिरहेका छन् । ठूला र बाक्ला कपाल, घुँघराले कपाल, कम्मरमाथि लगाइने पोसाक, ठूलो आकारका घामका चस्मा तथा आकर्षक गरगहना यस शैलीका प्रमुख विशेषता बनेका छन् ।

यसका लागि सामान्य तस्बिरलाई कृत्रिम बौद्धिकता आधारित तस्बिर निर्माण सेवामा राखेर आफूले चाहेको शैलीबारे निर्देशन दिन सकिन्छ । अनुहारको पहिचान कायम राख्दै ८० को दशकको पोसाक, कपाल, प्रकाश, पृष्ठभूमि र पुरानो तस्बिरको बनावट समेट्न आग्रह गरेपछि कृत्रिम बौद्धिकताले सोहीअनुसार तस्बिर तयार गर्छ । यसका लागि व्यावसायिक तस्बिर सम्पादनको सीप आवश्यक नपर्ने भएकाले यो प्रवृत्ति सामाजिक सञ्जालमा अझ लोकप्रिय बनेको छ ।