काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । मन्त्रालयले शुक्रबार एक प्रेस नोट जारी गर्दै मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको हो ।
मन्त्रालयले रुग्ण आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको बाँकी कामले गति लिएको दाबी गरेको छ । ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो।
मन्त्रालयका अनुसार नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ भने सब स्ट्रक्चरको ढलान कार्यसमेत सकिएको छ। पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम सम्पन्न भइसकेको छ। अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी छ। आगामी हप्ता नदीमा पानीको सतह घटेपछि सो कामसमेत सम्पन्न हुने मन्त्रालयको दाबी छ ।
धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि माटो भरिए पनि वर्षाको पानीले बगाएर क्षति पुगेको छ । नदीमा पानीको सतह घटेपछि पुन माटो भर्ने काम सम्पन्न गरिनेछ। सिराहातर्फ पुलको पहुँच सडकमा माटो भर्ने काम भने सम्पन्न भइसकेको छ। यसैगरी, पुलको लोड परीक्षण समेत सम्पन्न भइसकेको छ । अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
२०६८ सालमा पप्पु लुम्बिनी जेभीले पुल निर्माणको ठेक्का लिएको थियो । २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो । सरकारले आयोजनामा भइरहेको ढिलाइको मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको काम समेत अघि बढाइएको उल्लेख गरेको छ । नदी नियन्त्रणका लागि २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकिएको मन्त्रालयको भनाइ छ । डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन् । आगामी हप्ता प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गर्ने मन्त्रालयको तयारी छ।