• २०८३ असोज २१
  • 2026 October 07, Wednesday

क्यानडाले किन सुरु गर्यो सम्भावित अमेरिकी आक्रमणविरुद्धको युद्ध अभ्यास ?

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले गत साता कुनै समय सोच्न पनि नसकिने एउटा सम्भावित अवस्थाका लागि आफूले तयारी गरेको स्वीकार गरेका छन्—अमेरिकाले क्यानडामाथि आक्रमण गर्ने अवस्था।

जोखिम कम र यस्तो घटना हुने सम्भावना निकै न्यून रहेको उल्लेख गर्दै उनले ‘द न्युयोर्क टाइम्स’ लाई डोनाल्ड ट्रम्पको राष्ट्रपतित्वमा अमेरिका–क्यानडा सम्बन्ध नयाँ ढंगले परिभाषित भइरहेका बेला सबै सम्भावनालाई विचार गर्नु आफ्नो जिम्मेवारी रहेको बताएका हुन्।

“यो जोखिम व्यवस्थापन मात्र हो,” न्युयोर्क टाइम्ससँग कार्नीले भने।

ट्रम्पका विश्वव्यापी कर तथा क्यानडालाई ५१औँ अमेरिकी राज्य बनाउने आफ्नो इच्छा उनले पटक–पटक व्यक्त गरेपछि क्यानडाले अमेरिकी आक्रमणको सम्भावनालाई लिएर युद्ध अभ्यास गर्न थालेको छ।

सन् २०२५ मा अमेरिकी राष्ट्रपतिले अमेरिकाले क्यानडाविरुद्ध बल प्रयोग गर्ने सम्भावना अत्यन्तै कम रहेको बताएका थिए। बरु, राजनीतिक उद्देश्य हासिल गर्न आफूले आर्थिक दबाब जारी राख्ने उनले बताएका थिए।

“राष्ट्रपति ट्रम्पले क्यानडाका महान् जनताको सुरक्षा गर्न अरू कसैले भन्दा बढी काम गर्नुभएको छ,” ह्वाइट हाउसले यसै साता बीबीसीलाई दिएको वक्तव्यमा भनेको छ।

बीबीसीसँग कुरा गरेका सैन्य विज्ञहरूले पनि अमेरिकी आक्रमणको सम्भावना निकै कम रहेको बताएका छन्। उनीहरूले दुवै देशले रक्षा क्षेत्रमा विभिन्न तरिकाले सहकार्य गर्दै आएको उल्लेख गरेका छन्।

तर यो विषय क्यानडालीहरूको चिन्ताको विषय भने बनेको देखिन्छ।

गत जनवरीमा अमेरिकाले भेनेजुएलाका निकोलास मादुरोलाई पक्राउ गरेपछि लेजरले गरेको एक सर्वेक्षणमा ३० प्रतिशतभन्दा बढी क्यानडालीले अमेरिकाले क्यानडामाथि आक्रमण गर्ने सम्भावना रहेको विश्वास गरेको देखिएको थियो।

लडाइँ हुने सम्भावना किन कम छ?

क्यानडा र अमेरिकाबीच युद्ध हुनु निकै जटिल र लगभग कल्पना गर्नै कठिन हुने पूर्व सैन्य अधिकारी लेफ्टिनेन्ट–जनरल क्रिस्टोफर कोट्सले बताएका छन्। उनले रोयल क्यानाडियन एयर फोर्समा ३४ वर्ष सेवा गरेका थिए भने विभिन्न वरिष्ठ पदमा काम गरेका थिए।

“मैले आफ्नो पूरै करियर सैन्य कारबाहीमा बिताएँ, तर अमेरिकी भूभागबाट सैन्य आक्रमण आउँछ भन्ने सम्भावनालाई हामीले कहिल्यै विचार नै गरेनौँ,” उनले बीबीसीलाई भने।

नेटोका विभिन्न अभियानमा समेत काम गरेका कोट्सले क्यानडा र अमेरिकाले सैन्य रक्षाका धेरै क्षेत्रमा सहकार्य गर्ने गरेको बताए।

दुवै देश उत्तर एटलान्टिक रक्षा गठबन्धन (नेटो) का सदस्य हुन्। नेटोको नियमअनुसार कुनै सदस्य राष्ट्रमाथि आक्रमण भएमा अन्य सदस्य राष्ट्रहरूले उसको रक्षा गर्नुपर्छ।

यी दुई देशले उत्तर अमेरिकी एरोस्पेस डिफेन्स कमान्ड अन्तर्गत आर्कटिक क्षेत्रमा संयुक्त रक्षा अभियान पनि सञ्चालन गर्छन् र नियमित रूपमा गुप्तचर सूचना आदानप्रदान गर्छन्।

यस कारण अमेरिकी आक्रमण सुरु भएमा त्यो सिधै सशस्त्र आक्रमणबाट नभई साइबर युद्धजस्ता थप गोप्य माध्यमबाट सुरु हुन सक्ने कोट्सको विश्वास छ।

सधैँ असल मित्र थिएनन् दुई देश

दोस्रो विश्वयुद्धपछि २०औँ शताब्दीको उत्तरार्धमा क्यानडा र अमेरिका स्वाभाविक सहयोगी बने। त्यसपछि दुवै देश आर्थिक, सैन्य र सांस्कृतिक रूपमा निकै नजिकिँदै गए।

तर अवस्था सधैँ यस्तो थिएन। क्यानाडियन वार म्युजियमका अनुसन्धानकर्ता टिम फोरानका अनुसार १८औँ र १९औँ शताब्दीमा अमेरिकी विस्तारवादको विरोध गर्नु क्यानडाको पहिचानको एउटा महत्त्वपूर्ण हिस्सा हो।

“संयुक्त राज्य अमेरिकाप्रतिको डर क्यानडाको राजनीतिक परियोजनाको आधारभूत हिस्सा हो,” उनले भने।

क्यानडा ब्रिटिस उत्तर अमेरिकाका विभिन्न उपनिवेशलाई मिलाएर बनेको थियो। ती उपनिवेशहरू आधुनिक अमेरिकाका उपनिवेशहरूले विद्रोह गर्दा ब्रिटिस राजमुकुटप्रति वफादार रहेका थिए।

क्यानडा गठन हुनुअघि अमेरिकाले ब्रिटिस उत्तर अमेरिकाका उपनिवेशहरूमा आक्रमण गर्ने प्रयास गरेको थियो। सन् १७७५ मा अमेरिकी सेनाले मोन्ट्रियल नियन्त्रणमा लिएको थियो र क्युबेक सिटीलाई समेत लगभग जितेको थियो।

सन् १८१२ को युद्धमा अमेरिकीहरूले त्यसबेला अपर क्यानडा, लोअर क्यानडा र समुद्री उपनिवेश भनेर चिनिने क्षेत्रमा पटक–पटक आक्रमण गरे। अन्ततः युद्ध बराबरीमा टुंगियो। त्यस युद्धका क्रममा ब्रिटिस सैनिकहरूले बदलास्वरूप ह्वाइट हाउसमा आगजनी गरेका थिए।

फोरानका अनुसार त्यस समयमा पछि क्यानडा बनेका उपनिवेशहरू आफ्नो सुरक्षाका लागि बेलायत र उसको रोयल नेभीमा निर्भर थिए। साथै, प्रमुख युद्धहरूमा आदिवासी समुदायका मानिसहरूले समेत सेनापतिको भूमिकामा सेवा गरेका थिए।

पहिलो विश्वयुद्धपछि अमेरिकाको बढ्दो शक्ति र प्रभावका कारण क्यानडाले फेरि अमेरिकासँग युद्ध हुन सक्ने अवस्थाबारे विचार गरेको थियो।

क्यानडाले त्यसका लागि एउटा योजना तयार गरेको थियो। त्यस योजनाका लागि क्यानाडियन सेनाका जनरलहरूले गोप्य रूपमा सीमावर्ती सहरहरूको भ्रमण गरेका थिए। उनीहरू पर्यटक बनेर पुल र राजमार्गका तस्बिर खिच्थे र त्यसलाई गुप्तचर सूचनाका रूपमा प्रयोग गर्थे।

उनीहरूले स्थानीय बासिन्दासँग कुराकानी गरेर सम्भावित शत्रुबारे थप जानकारी पनि संकलन गर्थे।

त्यतिबेला युद्ध हुने सम्भावना निकै कम रहेको क्यानाडियन वार म्युजियमका २०औँ शताब्दीमा क्यानडासम्बन्धी विशेषज्ञ अनुसन्धानकर्ता एन्ड्र्रयु बर्ट्चले बताए। तर क्यानडालीहरू तयारी अवस्थामा रहन चाहन्थे।

“यही काम सैन्य संस्थाहरूले गर्छन्,” उनले भने, “उनीहरूले विभिन्न प्रकारका सम्भावित अवस्थाको कल्पना गर्छन्।”

अमेरिकी आक्रमण भए के हुन सक्छ?

अमेरिकाले क्यानडामाथि आक्रमण गर्ने सम्भावना अत्यन्तै कम भए पनि क्यानडाले त्यसका लागि तयारी गर्नु विश्व व्यवस्था कति ठूलो रूपमा परिवर्तन भएको छ भन्ने संकेत भएको कनेक्टिकटस्थित युनिभर्सिटी अफ न्यु हेभनका राष्ट्रिय सुरक्षा विषयका सहप्राध्यापक म्याथ्यु स्मिटले बताए।

उनका अनुसार क्यानाडियन नेताहरूले अमेरिकी सेनासँग कति नजिकको सहकार्यलाई निरन्तरता दिने भन्नेबारे कठिन प्रश्नहरू सामना गर्नुपर्नेछ। यस्तो साझेदारीले क्यानडालाई महत्त्वपूर्ण सूचना उपलब्ध गराउँछ, तर यही सूचना भविष्यमा क्यानडालाई हानि पुर्‍याउन प्रयोग हुन सक्ने जोखिम पनि रहन्छ।

“यसले अमेरिकासँगको सम्बन्धलाई वास्तवमै क्षति पुर्‍याइरहेको छ र यहाँ केही हदसम्म वास्तविक डर पनि छ,” उनले भने, “अमेरिकीहरूले क्यानडालाई ५१औँ राज्य बनाउने ट्रम्पका भनाइलाई गम्भीर रूपमा नलिन सक्छन्, तर क्यानडालीहरूले भने त्यसलाई गम्भीर रूपमा लिइरहेका छन् र आवश्यक परे आफ्नो रक्षा गर्न तयार छन्।”

त्यसो भए यदि यस्तो अवस्था वास्तवमै आयो भने कस्तो युद्ध हुन सक्छ?

युद्धको पहिलो चरण निकै छोटो हुन सक्ने अनुमान गरिएको छ।

यस वर्षको सुरुवातमा ‘ग्लोब एन्ड मेल’ पत्रिकाले रिपोर्ट गरे अनुसार क्यानाडियन सेनाले प्रयोग गरेको एउटा मोडलमा अमेरिकी आक्रमण भए क्यानडाका रणनीतिक स्थानहरू एक साताभित्रै नियन्त्रणमा पर्न सक्ने देखाइएको छ।

क्यानाडियन सेना चाँडै संख्यात्मक रूपमा कमजोर बन्ने र त्यसपछि आफ्ना सेनाले शत्रुलाई रोक्न छापामार शैलीको युद्धमा जानुपर्ने अवस्था आउन सक्ने मोडलले देखाएको छ।

जनवरीमा वरिष्ठ सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै पत्रिकाले जनाए अनुसार फ्रान्स र बेलायतजस्ता सहयोगी देशहरूले क्यानडालाई सहयोग र रक्षा गर्न आह्वान गर्न सक्छन्।

यो सैद्धान्तिक मोडल एक शताब्दीमा पहिलोपटक क्यानडाले अमेरिकी आक्रमणका लागि योजना बनाएको घटना भएको विश्वास गरिएको छ।

कोट्सका अनुसार यो मोडल सैन्य युद्ध योजनाको तुलनात्मक रूपमा सामान्य तहमा पर्छ।

उनले नेटोका अन्य सहयोगी राष्ट्रहरूको तुलनामा क्यानडा कुनै पनि स्थल आक्रमणको अवस्थामा अपनाउने प्रतिक्रियाको योजना बनाउन पछाडि रहेको बताए। अप्रत्याशित भू–राजनीतिक अवस्थाको यो समयमा क्यानडा अहिले त्यसको कमी पूरा गर्ने प्रयासमा रहेको उनको भनाइ छ।

यसको एउटा उदाहरणका रूपमा उनले हालै क्यानडाका रक्षा प्रमुखले सेनाको आकारमा ठूलो वृद्धि गर्न गरेको आह्वानलाई उल्लेख गरे। योजना अनुसार ३ लाख कम तालिमप्राप्त नागरिक सैनिक थप्ने कुरा पनि समावेश छ।

तर अमेरिकी दृष्टिकोणबाट पनि क्यानडामाथि आक्रमण गर्नु सहज नहुन सक्छ।

अमेरिकासँग ठूलो सैन्य शक्ति भए पनि क्यानडासँग युद्ध गर्न अमेरिकी सेनाभित्रै पर्याप्त समर्थन जुटाउन कठिन हुने स्मिटले बताए।

“मलाई लाग्छ क्यानडामाथि आक्रमण गर्ने आदेश दिइएमा ठूलो संख्यामा अमेरिकी सैन्य अधिकारीहरूले राजीनामा दिनेछन्उ, किनभने उनीहरूले त्यसलाई गैरकानुनी र अनैतिक आदेशका रूपमा हेर्नेछन्,” उनले भने।

स्मिटका अनुसार क्यानाडियन र अमेरिकी सैनिकहरू नियमित रूपमा सँगै सैन्य अभ्यास गर्छन् र एकअर्काप्रति पारस्परिक सम्मान पनि राख्छन्।

तर सम्बन्ध निकै बिग्रिएर युद्धको अवस्था आएमा अमेरिकाले क्यानडाका तेल र खनिजजस्ता महत्त्वपूर्ण स्रोतहरू नियन्त्रणमा लिन तथा राजनीतिक नेतृत्वलाई हटाउने प्रयास गर्न सक्ने उनले बताए।

“तपाईंले भेनेजुएलामा देखेको जस्तै एउटा प्रकारको अभियान देख्न सक्नुहुन्छ,” उनले भने।

उनले यस वर्षको सुरुवातमा पूर्वभेनेजुएलाली राष्ट्रपति मादुरोलाई पक्राउ गर्न अमेरिकाले गरेको सैन्य कारबाहीलाई उदाहरणका रूपमा उल्लेख गरे।

(बीबीसीबाट)