• २०८३ असोज २२
  • 2026 October 08, Thursday

२७ मुद्दाका फरार कुख्यात ‘आयन माझी’ पक्राउ, उपत्यकामा सिरियल लुटपाट मच्चाउने समूहको पर्दाफास

काठमाडौँ । डाँका तथा चोरीका २७ वटा मुद्दामा प्रतिवादी रहेका कुख्यात अपराधी आयन माझीलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । काठमाडौँ उपत्यकामा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी, हातहतियार देखाई सुनका गरगहना र नगद लुटपाट मच्चाउँदै आएको ‘आयन माझी समूह’का नाइके माझीसहित ३ जनालाई प्रहरीले बिहीबार बरामद सामानसहित सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरीमाथि नै हतियार प्रहार गरी भाग्न खोजेपछि घुँडा मुनि गोली हानेर माझीलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार असोज २१ गते काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटी पुल मुनिको सडकमा विशेष सूचनाका आधारमा प्रहरी टोलीले आयन माझीलाई चोरीको मोटरसाइकलसहित फेला पारेको थियो।

नियन्त्रणमा लिने क्रममा माझीले प्रहरी टोलीमाथि नै धारिलो हतियार (खुकुरी) प्रहार गरी भाग्न खोजेपछि चेतावनी स्वरूप २ राउन्ड हवाई फायर र घुँडा मुनि १ राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको हो।

माझी पक्राउ परेलगत्तै उनको बयानका आधारमा भक्तपुरको ठिमी नगरपालिका–४ बाट लुटपाटमा संलग्न थप दुई जना सहयोगीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुली मरिन गाउँपालिका–५ घर भई हाल काठमाडौँ कलङ्की (ढुङ्गेअड्डा) बस्ने २६ वर्षीय माझी यो समूहका मुख्य मास्टरमाइन्ड हुन्। उनी लुटपाटका योजना बनाउने, बहुमूल्य सामान खोस्ने/बिक्री गर्ने तथा हातहतियार र नक्कली नम्बर प्लेटको व्यवस्थापन गर्ने काम गर्थे।

२०७७ को डाँका चोरी मुद्दामा ३ महिना कैद भुक्तान गरी छुटेका उनी अदालतले पुनः ६ महिना कैद तोकेपछि फरार थिए। २०८२ वैशाखमा ३ महिना कैद भुक्तान गरी निस्किएका उनीमाथि काठमाडौँ, भक्तपुर र काभ्रेका विभिन्न प्रहरी वृत्त/कार्यालयहरूमा २७ वटा डाँका चोरी मुद्दा दर्ता भइसकेका छन्। उनी गत भदौ २४ गतेको ‘जेन जी आन्दोलन’का क्रममा एटिएम (ATM) बुथहरू लुटपाटमा समेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

उनका सहयोगी मनोज कुमार मोक्तान र राकेश थिङ पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार मकवानपुर बकैया–७ घर भई हाल भक्तपुर ठिमी–४ बस्ने ३६ वर्षीय मोक्तान लुटपाटमा प्रयोग गरिने मोटरसाइकल चलाउने गर्थे। उनी यसअघि पनि कुटपिट मुद्दामा पक्राउ परेका थिए।

यसैगरी, अर्का सहयोगी मकवानपुर बकैया–५ घर भई हाल भक्तपुर ठिमी–४ बस्ने ३४ वर्षीय थिङ लुटपाट गर्दा मोटरसाइकलको पछाडि बसेर सर्वसाधारणलाई नियन्त्रणमा लिने र सामान थत्ने गर्थे। उनी पनि पूर्व कुटपिट मुद्दाका अभियुक्त हुन्।

अध्याँरोको फाइदा उठाउँदै ‘ठेगाना सोध्ने’ बहानामा लुटपाट

अनुसन्धानबाट माझी समूहको डरलाग्दो अपराधिक कार्यशैलीको पर्दाफास भएको छ । उनीहरुले बिहान र रातिको अध्याँरो समयमा मर्निङ वाक वा तरकारी किन्न निस्कने एक्ला मानिसहरूलाई ‘ठेगाना सोध्ने’ वा पठाओ/इनड्राइभको बहानामा रोकेर हतियार देखाई लुटपाट गर्ने र भागिसकेपछि प्रहरीलाई दिग्भ्रमित पार्न ३ वटासम्म सवारी साधन परिवर्तन गर्ने गरेको पाइएको छ ।

यो समूहले थप ठूला लुटपाट गर्नका लागि ‘जेन जी आन्दोलन’का क्रममा प्रहरीबाट खोसिएका/लुटिएका आधुनिक हातहतियारहरूसमेत खरिद गर्ने तयारी गरिरहेको अनुसन्धानमा खुलेको छ।

यो समूहले अपराधमा प्रयोग गर्न काठमाडौँका विभिन्न स्थानबाट १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरिसकेको छ। गत असोज १३ गते काठमाडौँ १५ डल्लु चौतारामा BYD कारभित्र रहेका रमेश खड्कीको घाँटीबाट साढे ३ तोलाको सुनको सिक्री (अन्दाजी मूल्य रु. १० लाख ५० हजार) थुतेर फरार भएका थिए।

असोज १४ गते बौद्ध गेट नं. २ नजिकै रातको १ : ४० बजे तरकारी किन्न जाँदै गरेका महेन्द्र कुमार बललाई घेरेर नगद रु. २ लाख र कागजात लुटेका थिए।

प्रहरीले अभियुक्तहरूको कब्जाबाट लुटपाटमा प्रयोग गरिएका २ थान मोटरसाइकल, ५ थान नक्कली नम्बर प्लेट, १ थान खुकुरी र वारदातको समयमा लगाइएका कपडाहरू बरामद गरेको छ।

समूहका अन्य फरार सदस्यहरूको खोजी तीव्र पारिनुका साथै पक्राउ परेकाहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँबाट डाँका तथा चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।