• २०८३ असोज २३
  • 2026 October 09, Friday

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विश्व बैंकसँग भूकम्पसम्बन्धी जोखिम व्यवस्थापनका लागि सम्झौता गर्ने, बिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश स्वीकृत गर्ने र एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले विश्व बैंकसँग ‘नेपाल भूकम्प विपद् बन्ड’ सम्बन्धी अधिकारपत्र सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गरेको छ ।

त्यस्तै, जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र करातेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।