• २०८३ असोज २९
  • 2026 October 15, Thursday

जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आज बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन् । घाइतेहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ ।

घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।