• २०८३ असोज २९
  • 2026 October 15, Thursday

को थिए टाइटानिकका एक्ला काला यात्रु ?

काठमाडौँ । सन् १९१२ मा डुबेको टाइटानिक जहाजमा सवार यात्रुमध्ये जोसेफ फिलिप लारोशको कथा लामो समयसम्म ओझेलमा पर्‍यो । अभिलेखअनुसार उनी टाइटानिकको पहिलो यात्रामा सवार एक्ला काला यात्रु थिए । जहाज दुर्घटनामा करिब १ हजार ५०० जनाको ज्यान गएको थियो । लारोशकी गर्भवती पत्नी र दुई छोरी भने सुरक्षित बचेका थिए ।

लारोशको जन्म सन् १८८६ मा हाइटीको क्याप–हाइटियनमा भएको थियो । उनी हाइटीका पहिलो सम्राट जाँ–जाक देसालिनका पनाति थिए । १५ वर्षको उमेरमा इन्जिनियरिङ अध्ययनका लागि फ्रान्स पुगेका उनले पछि इन्जिनियरको उपाधि हासिल गरेका थिए । फ्रान्समा अध्ययन र काम गर्ने क्रममा उनले जातीय विभेदको सामना गर्नुपरेको थियो । काला भएकै कारण जागिर पाउन र टिकाउन कठिन भएको थियो । यद्यपि, उनले फ्रान्सेली महिला जुलियट लाफार्गसँग विवाह गरे । उनीहरूका सिमोन र लुइज नामका दुई छोरी थिए ।

फ्रान्समा भोग्नुपरेको विभेदका कारण लारोश परिवारसहित आफ्नो जन्मभूमि हाइटी फर्कने योजनामा थिए । त्यहाँ उनका लागि गणित शिक्षकको जागिरसमेत मिलाइएको थियो । उनी फ्रान्समा जन्मिने आफ्नो तेस्रो सन्तानलाई त्यहीँ हुर्काउन चाहँदैनथे । परिवारले सुरुमा अर्को जहाजको पहिलो श्रेणीको टिकट पाएको थियो । तर बालबालिकाले आमाबाबुसँगै बसेर खाना खान नपाउने व्यवस्था थाहा पाएपछि उनीहरूले टिकट परिवर्तन गरी टाइटानिकको दोस्रो श्रेणीमा यात्रा गर्ने निर्णय गरे । यसरी संयोगले लारोश परिवार टाइटानिकमा सवार हुन पुग्यो ।

सन् १९१२ अप्रिल १४ को राति करिब ११: ४० बजे टाइटानिक हिमशिलासँग ठोक्कियो । जहाज डुब्न थालेपछि लारोशले पत्नीलाई उठाएर आवश्यक सामान समेटे र सुतिरहेका छोरीहरूलाई बोकेर माथिल्लो डेकमा पुगे । उनकी गर्भवती पत्नी र दुवै छोरीलाई उद्धार डुङ्गामा चढ्न दिइयो ।

अर्को दिन आरएमएस कार्पाथिया जहाजले लारोशकी पत्नी र छोरीहरूलाई उद्धार गरेको थियो । तर लारोशको त्यसपछि के भयो भन्ने कुरा कहिल्यै पत्ता लागेन । उनको मृत्यु भएको मानिए पनि उनको शव फेला परेको विवरण छैन ।

लिभरपुलस्थित सामुद्रिक सङ्ग्रहालयको भ्रमणका क्रममा समाजशास्त्री कार्लेट नोरवुडले लारोशको कथा फेला पारेपछि उनको जीवनबारे अध्ययन सुरु गरेकी थिइन् । उनले लारोशको जीवनमा आधारित नाटकसमेत लेखेकी छन्, जसको पहिलो मञ्चन अक्टोबर १७ मा लिभरपुलमा हुने बताइएको छ ।

नोरवुडका अनुसार लारोशको कथा टाइटानिक दुर्घटनाको इतिहास मात्र होइन, जातीय विभेदका बीच शिक्षा हासिल गरेर अघि बढेका एक व्यक्तिको जीवन पनि हो । उनको कथा सार्वजनिक गर्नुको उद्देश्य काला समुदायको इतिहासलाई दासत्वको सीमित कथाभन्दा बाहिर ल्याउनु र ओझेलमा परेका व्यक्तिहरूको योगदानलाई चिनाउनु रहेको उनले बताएकी छन् ।