• २०८३ असोज २९
  • 2026 October 15, Thursday

दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेशकुमार सिंह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत प्राप्त हुँदैमा सरकारले गर्ने सबै निर्णय सही नहुने बताएका छन्।

राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले प्रश्न उठाउँदै केही नाम अस्वीकृत गरेपछि प्रतिक्रिया दिँदै सिंहले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने बताएका हुन् ।

उनले राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उल्लेख गरेका छन् । सिंहले लोकतन्त्रमा बहुमतको शासन भए पनि बहुमतलाई जवाफदेही बनाउने व्यवस्था पनि उत्तिकै आवश्यक रहेको बताएका छन् । ‘दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन । लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,’ उनले भनेका छन् ।

संसदीय समितिको भूमिकालाई लोकतान्त्रिक व्यवस्थाको महत्त्वपूर्ण पक्षका रूपमा व्याख्या गर्दै सिंहले बहुमतको निर्णयमाथि पनि प्रश्न उठाउन र त्यसलाई जवाफदेही बनाउन सकिने व्यवस्था नै लोकतन्त्रको सुन्दरता भएको बताएका छन् । ‘यही हो लोकतन्त्रको सुन्दरता, यही हो संसदीय समितिको गरिमा,’ सिंहले भनेका छन् ।