मध्यपूर्वको भूराजनीति अहिले जुन मोडमा उभिएको छ, त्यसमा यमनका हुथी विद्रोही कुनै सानो विद्रोही समूहका रूपमा नभई एउटा शक्तिका रूपमा व्यवहार गरिरहेका छन्।
सन् २०२६ को अक्टोबरमा साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएका मिसाइल आक्रमणले विश्वभरका रक्षा विशेषज्ञलाई आश्चर्यचकित पारेका छन्। ती आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।
एकातिर हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा विमानस्थलदेखि तेल प्रशोधन केन्द्रसम्मलाई निशाना बनाइरहेका छन् भने अर्कोतिर लाल सागर र बाब अल–मन्देब जलडमरूमध्यको विश्वव्यापी समुद्री व्यापार मार्गमा आफ्नो प्रभाव कायम गरिरहेका छन्।
तर आज वासिङ्टनदेखि रियाद र तेल अभिभसम्मका रणनीतिक युद्धकक्षमा चर्चाको विषय बनेको सबैभन्दा ठूलो प्रश्न हो—सन् २०१५ देखि संयुक्त राष्ट्रसंघको कडा हतियार प्रतिबन्ध झेलिरहेको यो समूहसँग यति उच्च प्रविधिका हतियार कहाँबाट आइरहेका छन्?
यसमा इरानको हात छ कि यसका पछाडि चिनियाँ कम्पनीका पार्टपुर्जा, कृत्रिम बुद्धिमत्ता र विश्वव्यापी तस्करी सञ्जालका सम्बन्ध जोडिएका छन्?
‘द वाल स्ट्रिट जर्नल’ र सीएआरको चिनियाँ पार्टपुर्जाबाट ‘खैबर शिकन’ मिसाइल बनाउने दाबी
हुथीहरूको हतियार आपूर्ति सञ्जालबारे सबैभन्दा ठूलो र आश्चर्यजनक दाबी सन् २०२६ को अक्टोबरमा सार्वजनिक भएको छ।
मध्यपूर्वको भूराजनीतिलाई नजिकबाट नियाल्ने विश्लेषक हरिन्दर मिश्राले बीबीसी न्युज हिन्दीलाई दिएको अन्तर्वार्तामा हुथीहरूसँग अहिले आइरहेका मानवरहित हवाई यान (यूएभी) र आधुनिक हतियारमा चिनियाँ प्रविधिको ठूलो भूमिका रहेको कुरामा विशेष जोड दिएका छन्।
उनका अनुसार हुथी विद्रोहीले ड्रोन प्रविधिको क्षेत्रमा उल्लेखनीय आत्मनिर्भरता पनि हासिल गरिसकेका छन्।
यसैबीच, ‘द वाल स्ट्रिट जर्नल’ को पछिल्लो प्रतिवेदन र युद्ध क्षेत्रमा हतियारको आपूर्ति सञ्जालको खोजी गर्ने प्रतिष्ठित संस्था कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चको अनुसन्धानले हुथी लडाकुहरूले चीनबाट मगाइएका पार्टपुर्जाको सहयोगमा आफ्नै उन्नत मध्यम दूरीका ब्यालिस्टिक मिसाइल बनाउने प्रयास गरिरहेको देखाएको छ।
कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चको प्रतिवेदनअनुसार यमनी विद्रोहीले एक चिनियाँ आपूर्तिकर्ताबाट यस्ता धेरै महत्त्वपूर्ण उपकरण प्राप्त गरेका छन्, जुन इरानको सबैभन्दा शक्तिशाली र सटीक निशाना लगाउन सक्ने मिसाइलमध्ये एक ‘खैबर शिकन’ को आफ्नै संस्करण तयार गर्न आवश्यक हुन्छन्।
हुथीहरूको यो मिसाइलको मारक क्षमता करिब १ हजार २०० माइल अर्थात् लगभग १ हजार ९३० देखि २ हजार किलोमिटरसम्म हुन सक्ने बताइएको छ। यसले सम्पूर्ण साउदी अरब र इजरायललाई उनीहरूको प्रत्यक्ष निशानामा ल्याउन सक्छ।
सीएआरको यो प्रतिवेदन जुलाईमा यमनी अधिकारीहरूले दिएको जानकारीमा आधारित छ। अधिकारीहरूले गत वर्ष अदनमा दुईवटा शंकास्पद मालवाहक खेप नियन्त्रणमा लिएका थिए। ती खेपमा सामान्य सामानबीच मिसाइल निर्माणका उपकरण लुकाएर राखिएका थिए।
सीएआरको प्रतिवेदनअनुसार ती खेपमा खैबर शिकन शृङ्खलाका मिसाइलका सातवटा विशेष भाग पहिचान गरिएका थिए। तीमध्ये स्थिरीकरण गर्ने पखेटाको मूल भाग, रकेट मोटरको पछाडिको बन्द गर्ने भाग, नोजल जोड्ने उपकरण र रकेट मोटर प्रज्वलित गर्ने उपकरण समावेश थिए।
इरानले सस्तो, चलायमान र सटीक निशाना लगाउन सक्ने खैबर शिकन मिसाइल पहिलोपटक सन् २०२२ मा तेहरानमा विश्वसामु सार्वजनिक गरेको थियो। गत वर्ष अमेरिकासँग भएको युद्धका क्रममा अमेरिकी सैन्य अखडाविरुद्ध यसको केही सफल प्रयोगसमेत गरिएको थियो।
कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चका प्रतिवेदनअनुसार यस प्रकारका सामान आयात भइरहेको अवस्थामा उनीहरूले मिसाइल उत्पादन गरिरहेका छन् वा त्यसको प्रयासमा छन् भन्ने सम्भावना निकै उच्च हुन्छ।
आखिर को हुन् हुथी?
यदि तपाईंलाई हुथी अचानक विश्वसामु देखा परेको सशस्त्र समूह हो भन्ने लाग्छ भने त्यस्तो बिल्कुलै होइन।
बीबीसी न्युजका प्रतिवेदन अनुसार हुथी आन्दोलनको आधिकारिक नाम ‘अन्सार अल्लाह’ अर्थात् ईश्वरका समर्थक हो। यो वास्तवमा यमनको उत्तरी प्रान्त सादाको जैदी शिया समुदायबाट विकसित भएको राजनीतिक तथा सशस्त्र आन्दोलन हो।
जैदी शिया इस्लामको एउटा शाखा हो, जुन इरान र लेबनानमा प्रचलित मुख्यधाराको ‘ट्वेल्भर शिया’ मतभन्दा सैद्धान्तिक रूपमा केही फरक छ। यो समुदाय शताब्दीयौँदेखि उत्तरी यमनका पहाडी क्षेत्रमा बलियो रहँदै आएको छ।
सन् १९९० को दशकको सुरुवातमा हुसेन बदरुद्दिन अल–हुथीले उत्तरी यमनमा साउदी अरब समर्थित सलाफी र वहाबी विचारधाराको बढ्दो प्रभावविरुद्ध जैदी पहिचानको संरक्षण गर्न ‘बिलिभिङ युथ’ नामक युवा आन्दोलन सुरु गरेका थिए।
सेप्टेम्बर २००४ मा यमनी सेनाको हातबाट हुसेन अल–हुथी मारिएपछि आन्दोलनको नेतृत्व उनका कान्छा भाइ अब्दुल–मलिक अल–हुथीको हातमा आयो। उनी आज पनि यस आन्दोलनका सर्वोच्च नेता हुन्।
अमेरिकाको प्रतिष्ठित सैन्य एकेडेमी ‘वेस्ट पोइन्ट’ को ‘कम्ब्याटिङ टेररिजम सेन्टर’ को अनुसन्धान अनुसार सन् २००४ देखि २०१० बीच यमनी सरकारविरुद्ध छ चरणको छापामार युद्ध लडेपछि हुथीहरूले सन् २०११ को अरब क्रान्तिको फाइदा उठाए र सेप्टेम्बर २०१४ मा यमनको राजधानी सानामाथि कब्जा गरे।
त्यसपछि मार्च २०१५ मा साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारलाई पुनः सत्तामा ल्याउन सैन्य हस्तक्षेप सुरु गर्यो। तर एक दशकभन्दा लामो बमबारीका बाबजुद कमजोर हुनुको सट्टा हुथीहरू झन् शक्तिशाली हुँदै गए।
हुथीहरूले हतियारको पहिलो ठूलो भण्डार कसरी पाए?
हुथीहरूको प्रारम्भिक शक्ति कहाँबाट आयो? यसको जवाफ यमनभित्रै लुकेको छ।
वेस्ट पोइन्ट विश्वविद्यालयको कम्ब्याटिङ टेररिजम सेन्टरमा प्रकाशित डा. माइकल नाइट्सको अनुसन्धान ‘द हुथी वार मेसिन : फ्रम गुरिल्ला वार टु स्टेट क्याप्चर’ अनुसार सन् २०१४ मा हुथीहरूले आफ्ना पुराना शत्रु तथा पूर्वराष्ट्रपति अली अब्दुल्लाह सालेहसँग हात मिलाएर राजधानी सानामाथि कब्जा गर्दा यमनको राष्ट्रिय सेनाका करिब ६८ प्रतिशत हतियार भण्डारमाथि प्रत्यक्ष नियन्त्रण प्राप्त गरे।
सत्तामाथि कब्जा गर्ने क्रममा हुथीहरूको हातमा सोभियत संघ र उत्तर कोरियाबाट खरिद गरिएका यमनी सेनाका पुराना स्कड र तोच्का ब्यालिस्टिक मिसाइल, जहाजविरोधी तटीय मिसाइल तथा हजारौँ टन गोलाबारुद परे।
त्यति मात्र होइन, सानामा रहेको यमनी सेनाको ‘मिसाइल ब्याट्री समूह’ र ‘मिसाइल अनुसन्धान तथा विकास केन्द्र’ का इन्जिनियर तथा प्राविधिकहरू पनि हुथीहरूको नियन्त्रणमा आए। उनीहरूलाई तत्काल उत्तरी यमनको सादा प्रान्तका सुरक्षित पहाडी क्षेत्रमा सारियो।
लन्डनस्थित थिंक ट्याङ्क ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज’ (आईआईएसएस) को अप्रिल २०२५ को प्रतिवेदनले हुथीहरूले सोभियतकालीन पुराना हावाबाट हावामा र जमिनबाट हावामा प्रहार गर्ने एसए–२ रक्षा मिसाइललाई इरानी निर्देशित प्रविधिको सहयोगमा ‘काहिर–१’ र ‘मुहित’ जस्ता जमिन तथा समुद्रमा प्रहार गर्न सकिने जहाजविरोधी ब्यालिस्टिक मिसाइलमा रूपान्तरण गरेको बताउँछ।
हुथी विद्रोहीलाई इरान र हिज्बुल्लाहको ‘पछाडिबाट सहयोग’ कसरी प्राप्त हुन्छ?
मध्यपूर्वका विशेषज्ञ हरिन्दर मिश्रासँग बीबीसी संवाददाताको छलफलमा एउटा महत्त्वपूर्ण कुरा बाहिर आएको छ। इरानले हुथीहरूलाई हतियार मात्र दिइरहेको छैन, आफ्ना विशेषज्ञलाई निरन्तर यमन पठाएर उनीहरूको सैन्य गतिविधि र हतियार जडान गर्ने इकाइहरूको व्यापक विस्तारसमेत गरिरहेको छ।
यमनी सेनाको पुरानो हतियार भण्डार सकिन थालेपछि वास्तविक खेल सुरु भयो।
वासिङ्टनस्थित थिंक ट्याङ्क ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज’ (सीएसआईएस) को प्रतिवेदन ‘द मिसाइल वार इन यमन’ अनुसार सन् २०१६ को मध्यसम्म युद्धमैदानमा यस्ता नयाँ मिसाइल देखिन थाले, जुन युद्धअघि यमनी सेनासँग कहिल्यै थिएनन्। तीमध्ये ‘बुरकान–१’ र कियाम शृङ्खलाका मिसाइल थिए।
वेस्ट पोइन्टको कम्ब्याटिङ टेररिजम सेन्टर (सीटीसी) को अर्को अध्ययन ‘द हुथी जिहाद काउन्सिल : कमान्ड एन्ड कन्ट्रोल इन द अदर हिज्बुल्लाह’ ले अब्दुल–मलिक अल–हुथीको नेतृत्वमा नौ सदस्यीय जिहाद परिषद् रहेको देखाउँछ। यसको केन्द्रमा तीन व्यक्तिको गोप्य कमान्ड काम गर्छ, जसमा स्वयं अब्दुल–मलिक, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरका एक वरिष्ठ अधिकारी र लेबनानको हिज्बुल्लाहका एक उपकमाण्डर छन्।
आईआईएसएस र सीएसआईएस दुवैका अनुसन्धानले साउदी र अमेरिकी नौसेनाको समुद्री नाकाबन्दीबाट बच्न इरानले पूरा मिसाइल पठाउनुको सट्टा तिनलाई ससाना भागमा छुट्याएर पठाउन थालेको पुष्टि गर्छन्।
माछा मार्न प्रयोग हुने परम्परागत काठका डुङ्गामार्फत अरब सागर, ओमानको स्थलसीमा र सोमालियाको बाटो हुँदै मिसाइलका किट, निर्देशित प्रणाली र इन्जिन यमनका होदेदाह तथा सलीफ बन्दरगाहसम्म पुर्याइयो। त्यहाँ हुथी विद्रोहीसँग सम्बन्धित प्राविधिकहरूले तिनलाई पुनः वेल्डिङ गरेर जोड्ने र जडान गर्ने काम गरे।
आईआईएसएसका मिसाइल विशेषज्ञहरूका अनुसार हुथीहरूले ‘मेड इन यमन’ भनेर प्रहार गर्ने लामो दूरीका अधिकांश मिसाइल वास्तवमा इरानी मिसाइलका पुनः नामकरण गरिएका संस्करण हुन्। उदाहरणका लागि, हुथीहरूको प्यालेस्टाइन–१ र प्यालेस्टाइन–२ मिसाइल इरानको खैबर शिकन वा फत्ताहमा आधारित छन् भने जुल्फिकार मिसाइल इरानको तरल इन्धनबाट चल्ने रेजवान मिसाइलकै रूप हो।
त्यस्तै, हुथीहरूको कासेफ, समद र वाएद कामिकाजे ड्रोन प्रत्यक्ष रूपमा इरानको अबाबिल र शाहेद–१३६ ड्रोन प्रविधिमा आधारित छन्।
चीनसँगको सम्बन्ध, विश्वव्यापी आपूर्ति सञ्जाल र इरानमाथिको निर्भरताबाट आत्मनिर्भरतातर्फ?
हुथीहरू अब इरानबाट आउने हतियारको खेपमा मात्र निर्भर छैनन्। उनीहरूले आफ्नै विश्वव्यापी खरिद तथा उत्पादन सञ्जाल निर्माण गरिसकेका छन्। ‘द वाल स्ट्रिट जर्नल’ र संयुक्त राष्ट्रसंघको विशेषज्ञ प्यानलले यस नयाँ प्रवृत्तिबारे निकै चकित पार्ने तथ्य सार्वजनिक गरेका छन्।
संयुक्त राष्ट्रसंघका प्रतिवेदन र हतियार विशेषज्ञहरूले सङ्कलन गरेको तथ्याङ्कले हुथीहरूका लागि पठाइएका र बाटोमै जफत गरिएका सामानमध्ये चिनियाँ कम्पनीहरू सबैभन्दा ठूलो स्रोतका रूपमा देखिएको बताउँछ।
तथ्याङ्कले अमेरिकी प्रतिबन्धको सामना गरिरहेका हुथीहरूका अधिकांश ड्रोनका पार्टपुर्जा आपूर्तिकर्ता चीनमा रहेको पनि देखाउँछ।
संयुक्त राष्ट्रसंघको यमन प्रतिबन्धसम्बन्धी प्यानलका एक पूर्वविशेषज्ञका अनुसार हुथीहरूले कम्तीमा पछिल्ला दुई वर्षदेखि चीनबाट ठोस इन्धन प्रयोग गर्ने ब्यालिस्टिक मिसाइलका पार्टपुर्जा आयात गरिरहेको पर्याप्त प्रमाण छ।
मध्यम दूरीका ब्यालिस्टिक मिसाइलमार्फत हुथीहरूले क्रुज मिसाइल र ड्रोनको तुलनामा निकै ठूलो विस्फोटक भार बोकेर साउदी अरबको भित्री भूभागसम्म प्रहार गर्न सक्छन्। यसले उनीहरूलाई अझ खतरनाक शक्ति बनाउँछ। यद्यपि, चीनले यमनी समूहलाई हतियार बिक्रीमा लगाइएको संयुक्त राष्ट्रसंघको प्रतिबन्धको सम्मान गर्ने आफ्नो आधिकारिक धारणा दोहोर्याउँदै आएको छ।
कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चको अक्टोबर २०२६ को डिस्प्याच प्रतिवेदनमा सेप्टेम्बर २०२६ मा सार्वजनिक भएको एउटा सुरक्षा प्रतिवेदनको पनि उल्लेख छ। उक्त प्रतिवेदनमा उत्तरी यमनका एक सञ्चालकले दुई हजार किलोमिटरभन्दा बढी मारक क्षमता भएको बहुचरणीय ब्यालिस्टिक मिसाइल र हाइपरसोनिक ग्लाइड भेहिकल परियोजना विकास गर्न क्लाउड कोडजस्ता कृत्रिम बुद्धिमत्ताका उपकरण प्रयोग गरिरहेको पाइएको थियो।
त्यति मात्र होइन, मार्च २०२५ मा सीएआरले हुथीहरू ड्रोनमा हाइड्रोजन इन्धन प्रयोग गर्ने प्रयास गर्ने विश्वकै पहिलो गैरराज्य सशस्त्र समूह बनेको पत्ता लगाएको थियो।
अर्बौँ डलरको रक्षा खर्चमाथि सस्ता ड्रोन कसरी भारी पर्दैछन्?
हुथी विद्रोही यति शक्तिशाली कसरी भए कि उनीहरूले साउदी अरबजस्तो धनी र आधुनिक हतियारले सुसज्जित देशमाथि निरन्तर आक्रमण गरिरहेका छन्? यो बुझ्न हामीले स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट अर्थात् सिप्री (SIPRI) का तथ्याङ्क र असममित युद्धको अर्थशास्त्र बुझ्नुपर्ने हुन्छ।
सिप्रीको संयुक्त राष्ट्रसंघीय हतियार प्रतिबन्धसम्बन्धी डेटाबेसअनुसार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले १४ अप्रिल २०१५ मा प्रस्ताव पारित गर्दै यमनका हुथी विद्रोहीमाथि अनिवार्य र अनिश्चितकालीन हतियार प्रतिबन्ध लगाएको थियो।
तर हजारौँ किलोमिटर लामो समुद्री मार्ग र व्यापारिक प्रयोजनका लागि प्रयोग हुने दोहोरो उपयोगका इलेक्ट्रोनिक पार्टपुर्जा अर्थात् नागरिक सामानका नाममा मगाइने उपकरणका कारण यो प्रतिबन्ध व्यवहारमा पूर्ण रूपमा प्रभावहीन साबित भएको छ।
मार्च २०२६ मा सार्वजनिक सिप्रीको पछिल्लो तथ्यपत्र ‘ट्रेन्ड्स इन इन्टरनेसनल आर्म्स ट्रान्सफर्स २०२५’ का तथ्याङ्कअनुसार सन् २०२१ देखि २०२५ बीच विश्वभर आयात गरिएका प्रमुख हतियारमध्ये २६ प्रतिशत हिस्सा मध्यपूर्वका देशहरूले खरिद गरेका थिए। मध्यपूर्वको कुल हतियार आयातमध्ये ५४ प्रतिशत अमेरिकाबाट आएको थियो।
सिप्रीको तथ्याङ्कअनुसार सन् २०२१–२५ को अवधिमा साउदी अरब विश्वकै तेस्रो ठूलो हतियार आयातकर्ता देश थियो। उसले अमेरिकाको कुल हतियार निर्यातको १२ प्रतिशत र स्पेनको कुल निर्यातको २८ प्रतिशत हिस्सा एक्लै खरिद गरेको थियो।
अब यो युद्धको आर्थिक सन्तुलन हेरौँ। आईआईएसएस र सीएसआईएसका प्रतिवेदनअनुसार हुथीहरू लागतको असमानता अर्थात् ‘कस्ट–एसिमेट्री’ रणनीतिमा काम गरिरहेका छन्।
हुथीहरूको एउटा कामिकाजे ड्रोन वा छोटो दूरीको रकेट बनाउन केवल केही हजार अमेरिकी डलर अर्थात् २ हजारदेखि २० हजार डलरसम्म खर्च हुन्छ। तर त्यसलाई आकाशमै खसाल्न साउदी अरब वा अमेरिकी नौसेनाले प्रहार गर्नुपर्ने प्याट्रियट वा स्ट्यान्डर्ड मिसाइल इन्टरसेप्टरमध्ये एउटा मिसाइलको मूल्य १० लाखदेखि ४० लाख डलर अर्थात् करिब ८ देखि ३३ करोड रुपैयाँसम्म पर्छ।
सीएसआईएसको तथ्याङ्कअनुसार मार्च २०१५ देखि अप्रिल २०२० बीच साउदी नेतृत्वको गठबन्धनले हुथीहरूका १६२ भन्दा बढी ब्यालिस्टिक मिसाइल आकाशमै रोक्नुपरेको थियो। त्यस समयसम्म युद्धको इतिहासमा ब्यालिस्टिक मिसाइल प्रतिरक्षाको यो सबैभन्दा ठूलो प्रयोग थियो।
अक्टोबर २०२६ को आफ्नो पछिल्लो प्रतिवेदनमा सीएसआईएसले परम्परागत हवाई रक्षा प्रणालीका इन्टरसेप्टर अत्यन्त महँगा र सीमित सङ्ख्यामा उपलब्ध हुने चेतावनी दिएको छ। आक्रमणकारी अर्थात् हुथी र इरान समर्थित समूहको पक्षमा लागतको यो अनुपात कायम रह्यो भने खाडी देश र अमेरिकाले ठूलो रकम खर्च गरे पनि सीमित परिणाम मात्र प्राप्त गर्नेछन्।
हुथी विद्रोहीले साउदी अरब, इजरायल र लाल सागरमा किन मिसाइल आक्रमण गरिरहेका छन्?
अक्टोबर २०२३ मा गाजामा युद्ध सुरु भएदेखि हुथीहरूले प्यालेस्टाइनको समर्थनको नाममा लाल सागर र अदनको खाडीमा व्यापारिक जहाजलाई निशाना बनाउन थाले। अक्टोबर २०२४ सम्म उनीहरूले १९० भन्दा बढी आक्रमण गरिसकेका थिए।
वेस्ट पोइन्टको सीटीसीका अनुसार हुथीहरू युद्धको इतिहासमा पहिलोपटक चलिरहेका पानीजहाजमाथि जहाजविरोधी ब्यालिस्टिक मिसाइल प्रहार गर्ने समूह बने। मार्च २०२४ मा उनीहरूले रुबीमार जहाज डुबाएका थिए।
सेप्टेम्बर २०२६ मा हुथीहरूले बाब अल–मन्देब जलडमरूमध्यबाट केवल ५० माइल उत्तरमा रहेको रणनीतिक बन्दरगाह सहर मोचामाथि कब्जा गरे। यसले विश्वव्यापी तेल तथा ग्यास आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण यस समुद्री मार्गमाथि उनीहरूको नियन्त्रण थप बलियो बनाएको छ।
हब्तुर रिसर्च सेन्टर र बीबीसी न्युजका प्रतिवेदनअनुसार हुथीहरूले इजरायलको इलात बन्दरगाह र तेल अभिभमा आक्रमण गरेर आफ्ना हाइपरसोनिक तथा लामो दूरीका मिसाइललाई वास्तविक युद्ध क्षेत्रमा परीक्षण मात्र गरेनन्, आफूलाई अरब विश्वमा ‘एक्सिस अफ रेजिस्टेन्स’ को प्रमुख शक्तिका रूपमा प्रस्तुत पनि गरे।
यसको जवाफमा इजरायल र अमेरिकाले मे २०२५ मा होदेदाह बन्दरगाह र सानाको मुख्य विमानस्थलमा भीषण हवाई आक्रमण गरे। यसबाट हुथीहरूको पूर्वाधारमा १ अर्ब ५० करोड डलरभन्दा बढीको क्षति पुगेको थियो। तर उनीहरूको भूमिगत मिसाइल क्षमता समाप्त भएन।
बीबीसी न्युज र ‘द गार्जियन’ का अक्टोबर २०२६ का प्रतिवेदनअनुसार यस वर्षको सुरुवाती महिनाहरूमा अमेरिका र इजरायलको इरानसँग प्रत्यक्ष सैन्य टकराव सुरु भएपछि हुथीहरूले सेप्टेम्बर २०२६ मा बाब अल–मन्देबनजिक आक्रामक अग्रता हासिल गरेका थिए।
साउदी अरब समर्थित यमनी सरकारी बलले हुथीहरूलाई पछाडि धकेल्न प्रत्याक्रमण अभियान चलाएपछि र रियादको नेतृत्वमा रहेको नाकाबन्दी थप कडा भएपछि हुथीहरूले साउदी अरबको आर्थिक जीवनरेखा मानिने रियाद र दम्मामका अन्तर्राष्ट्रिय विमानस्थल तथा तेल प्रशोधन केन्द्रमा ब्यालिस्टिक मिसाइलबाट लगातार आक्रमण गरे।
हुथीहरूको यो उच्च प्रविधिको स्तरोन्नति किन ठूलो चेतावनी हो?
हुथी विद्रोहीको कथा २१औँ शताब्दीको युद्ध अब ठूला देशका परम्परागत सेनाबीच मात्र लडिँदैन भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण हो।
‘द वाल स्ट्रिट जर्नल’ र कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च (सीएआर) को अक्टोबर २०२६ को प्रतिवेदनबाट स्पष्ट हुन्छ कि एउटा गैरराज्य सशस्त्र समूहले इरानी खाका, चिनियाँ कम्पनीका पार्टपुर्जा, विश्वव्यापी तस्करी सञ्जाल र कृत्रिम बुद्धिमत्ता (एआई) लाई एकीकृत गरेर आफ्नै ब्यालिस्टिक मिसाइल जडान उत्पादन लाइन खडा गर्ने दिशामा कदम अघि बढाएको छ।
यदि हुथीहरू १ हजार २०० माइलको मारक क्षमता र प्रतिघण्टा ६ हजार माइलको गतिमा दिशा परिवर्तन गर्न सक्ने खैबर शिकनजस्ता मिसाइलको ठूलो परिमाणमा घरेलु उत्पादन सुरु गर्न सफल भए भने यसले साउदी अरब र इजरायलको हवाई रक्षा प्रणालीका लागि मात्र नयाँ चुनौती खडा गर्नेछैन, विश्वव्यापी आपूर्ति सञ्जाल र अन्तर्राष्ट्रिय हतियार नियन्त्रणको सम्पूर्ण व्यवस्थामाथि पनि ठूलो प्रश्नचिह्न खडा गर्नेछ।
(बीबीसी हिन्दीबाट)