• २०८३ कात्तिक ८
  • 2026 October 24, Saturday

बंगालको खाडीमा विकसित हुँदै चक्रवात, नेपालको मौसम प्रभावित हुने सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्र चक्रवातमा परिणत हुन सक्ने र त्यसको प्रभावले नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार बिहान ५ : ४५ बजे पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास न्यून चापीय क्षेत्र विकसित भएको छ। उक्त प्रणाली बलियो हुँदै कात्तिक ९ गते सोमबारसम्म चक्रवातमा परिणत हुने सम्भावना छ ।

चक्रवात पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिशाको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।

यस मौसम प्रणालीका कारण कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ । यद्यपि, नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर र सम्भावित असरबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ ।

सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाउँदै आवश्यकताअनुसार थप सूचना जारी गर्ने जनाएको छ । साथै, महाशाखाले मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि नियमित रूपमा अद्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ ।