• २०८३ कात्तिक १३
  • 2026 October 29, Thursday

काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ ।

विहिबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले काठमाडौँलाई ८ विकेटले पराजित गरेको हो ।

काठमाडौँले दिएको ११६ रनको लक्ष्य पछाएको जनकपुर बोल्ट्सले १७.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

जनकपुरका लागि मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनाएका थिए भने सैफ हसनले अविजित ४० रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको काठमाडौँले १९.३ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।

काठमाडौँका लागि भिम सार्कीले सर्बाधिक ३३ रन बनाएका थिए भने रशिद खानले १७ र समित पटेलले १३ रन बनाएका थिए । त्यस्तै, समित महर्जनले १० रन बनाएका थिए ।

त्यसैगरी, जनकपुर बोल्ट्सका बलर राहुल यादवले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १८ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै, सैफ हसनले २ विकेट लिए भने हरमित सिंह, मोइन अली र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

पहिलो खेलमा कर्णाली याक्ससँग हारेको जनकपुरले दोस्रो खेलमा सहज जित हासिल गर्दै प्रतियोगितामा कमब्याक गरेको छ भने काठमाडौँले हारबाट प्रतियोगितामा शुरुवात गरेको छ ।

एनपीएल अन्तर्गत आजै कर्णाली याक्स र विराटनगर किंग्सबीच खेल हुँदैछ ।