• २०८३ कार्तिक १५
  • 2026 November 01, Sunday

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन्।

शे–फोक्सुन्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रमा उनीहरू हिउँमा फसेका हुन्।

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले हिमाली क्षेत्रमा हिमपात भएपछि पर्यटकहरू समस्यामा परेका हुन्। स्थानीय गाइडका अनुसार हिमपातका कारण उक्त क्षेत्र पार गर्न कठिन हुने भन्दै स्थानीयवासीले पर्यटकहरूलाई सचेत गराएका थिए। तर, स्थानीयको सुझाव बेवास्ता गर्दै उनीहरू अघि बढेपछि हिउँमा फसेको जानकारी प्राप्त भएको छ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पर्यटकहरू धोबाट फोक्सुन्डो तालतर्फ फर्किने क्रममा हिउँमा फसेका हुन्। स्थानीयवासीले हिमाल पार गर्न कठिन हुने जानकारी गराउँदागराउँदै पनि उनीहरू त्यसतर्फ गएको र त्यसपछि सम्पर्कविहीन भएको उनले बताइन्।

शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष धावा सम्दुक गुरुङका अनुसार वडा नम्बर ४ र ८ को बीचमा पर्ने उक्त पासहरूमा मोबाइल फोनको नेटवर्कसमेत उपलब्ध छैन। सञ्चार सम्पर्क नहुने भएकाले पर्यटकहरूको अवस्थाबारे जानकारी लिन कठिन भइरहेको उनले बताए।

उपल्लो डोल्पामा पुगेका २४४ पर्यटकमध्ये ६ सम्पर्कविहीन

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार उपल्लो डोल्पामा २४४ जना पर्यटक पुगेका छन्। तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक रहेका छन्। सम्पर्कविहीन भएका ६ जना भारतीय पर्यटक पनि यही २४४ जनाको सूचीभित्र रहेका छन्।

पछिल्लो समय शे–फोक्सुन्डो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। गत आर्थिक वर्ष २०८२÷८३ को ११ महिनामा मात्रै ४ हजार ८८२ जना पर्यटकले फोक्सुन्डो तालको भ्रमण गरेका थिए।

तर, उच्च हिमाली क्षेत्रमा मौसमको प्रतिकूलता, अचानक हुने हिमपात र सञ्चार सम्पर्कको अभाव पर्यटकका लागि चुनौती बन्दै आएको छ। विशेषगरी नुमला र वागला पासजस्ता उच्च हिमाली मार्गमा हिमपात भएपछि आवतजावत जोखिमपूर्ण हुने गरेको छ।

खोजीका लागि हेलिकप्टर माग

डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीले पछिल्लो जानकारीअनुसार पनि ६ जना भारतीय पर्यटक सम्पर्कमा नआएको बताए। उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरिएको उनले जानकारी दिए।

अत्यधिक हिमपात र प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा खोजी तथा उद्धार गर्न कठिनाइ भइरहेको छ। मोबाइल नेटवर्क नहुने क्षेत्र र बाक्लो हिउँका कारण पर्यटकहरू कुन अवस्थामा छन् भन्ने यकिन हुन सकेको छैन।

सम्पर्कविहीन हुनेमा दुई महिला र चार पुरुष रहेका छन्। उनीहरू धोबाट फोक्सुन्डो तालतर्फ आउँदै गरेका थिए। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हमालले बताइन्।

प्रतिकूल मौसमका कारण उद्धारमा चुनौती देखिएपछि हेलिकप्टरबाट खोजी तथा उद्धार गर्ने तयारीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। पर्यटकहरू सम्पर्कमा नआएसम्म उनीहरूको अवस्थाबारे यकिन गर्न नसकिने सुरक्षा अधिकारीहरूले बताएका छन्।