• २०८३ कार्तिक १५
  • 2026 November 01, Sunday

पत्रकार धरपकडको विषय गम्भीर हो, सामान्यीकरण नगरौं : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पत्रकार पक्राउ परेको विषय गम्भीर भएको टिप्पणी गरेका छन् ।

आइतबार, सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति थापाले पत्रकारमाथि गरिएको धरपकडले सरकारको सोच र बुझाई बारे प्रश्न उठेको बताएका हुन् ।

उनले सरकारका क्रियाकलाप आफुहरुले नजिकबाट हेरिरहेको बताउदै अहिलेको प्रवृतिले साच्चै चिन्ता बढाएको उल्लेख गरे । उनले भने- ‘के लाग्न थाल्यो भने, एउटा सानो समुह छ, त्यसले के भन्ठान्यो भने, वी आर द स्टेट, हामी नै हो, हामीले बोलेको कुरा स्टेटमेन्ट हुदैन, हुकुम हुन्छ । राज्यका अंगहरु आफ्नो आदेश पालन गर्ने निकाय भएको ठानेको देखिएको छ । यो घटनापछि यसलाई सामान्यीकरण नगरौं । यो प्रवृतिले हद नाघ्यो ।’

काँग्रेसले सरकारका राम्रा कामको समर्थन गरिरहेको बताउँदै गलत कामको बारेमा बोल्ने र प्रतिवाद गर्ने स्पष्ट गरे । सरकारको कामको जवाफदेहिता रास्वपाले लिनुपर्छ की पर्दैन भन्ने प्रश्न गर्दै उनले यसअघि संचारगृहका कार्यालय अगाडी गाडी पार्क गर्दा पनि रास्वपाले अहिले जस्तै विज्ञप्ति निकाले पनि कारवाही नगरेको बताए ।

यसैगरी, सभापति थापाले सरकारलाई अब शंकाको लाभ नदिने बताएका छन् । सरकार बनेको ७-८ महिना नयाँ भनेर शंकाको लाभ दिएको भएपनि अब नदिने स्पष्ट गरे ।

उनले सम्बेदनशील विषयमा भइरहेका अनुसन्धान निष्कर्षमा पुर्‍याउन आग्रह गर्दै अनुसन्धानमा सेलेक्टिभ नहुन चेतावनी दिए ।

उनले नागरिकले मात्रै नभई सरकारले पनि कानुनको पालना गर्नुपर्ने बताए । उनले विचौलियासम्बन्धी विषय बाहिर आएको उल्लेख गर्दै उनले त्यसको गहिराइसम्म पुगेर अनुसन्धान गर्नुपर्ने र जो–जो संलग्न छन्,उनीहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

उनले भने- ‘यसको गहिराइसम्म अनुसन्धान होस्। जो–जो संलग्न हुन्छन्,दोषीमाथि कारबाही होस् । यसमा सरकारलाई हाम्रो पूर्ण साथ रहन्छ ।’

सभापति थापाले अहिले उठिरहेका विषयमा आफुहरुले विभिन्न राजनीतिक दल, नागरिक समाज र युवाहरुसँग छलफल अगाडी बढाउने बताए ।