काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १९ अर्ब १४ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कमाएको १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँको तुलनामा यस वर्षको नाफा ४५.५९ प्रतिशतले बढेको हो। एक वर्षको अवधिमा बैंकहरूको संयुक्त नाफामा करिब ६ अर्ब रुपैयाँ थपिएको छ।
बैंकहरूको नाफा बढे पनि यसको प्रमुख आधार कर्जा विस्तारमा आएको तीव्रता भने देखिएको छैन। पछिल्ला वर्षमा कर्जाको माग र लगानी विस्तार अपेक्षाकृत सुस्त रहँदा ब्याज आम्दानीमा दबाब कायम छ। तर निक्षेपको ब्याजदर घटेपछि बैंकहरूको कोष लागत कम भएको छ। यसले ब्याज खर्च घटाउन सहयोग पुर्याएको छ। साथै कर्जा असुलीमा आएको सुधारसँगै सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम पनि घटेको छ। सेवा शुल्क तथा कमिसनबाट प्राप्त आम्दानीले समेत नाफा बढाउन सहयोग गरेको छ।
नाफाको आकारका आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। बैंकले समीक्षा अवधिमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा गरेको बैंकको कमाइ यस वर्ष ४५.४३ प्रतिशतले बढेको हो। ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २४.४९ प्रतिशतले वृद्धि भएको छ। यी दुई बैंकले मात्रै कुल बैंकिङ नाफाको करिब एक चौथाइ हिस्सा ओगटेका छन्।
राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाउँदै तेस्रो स्थान हासिल गरेको छ। गत वर्षको पहिलो त्रैमासमा ५९ करोड ८७ लाख रुपैयाँ नाफा गरेको बैंकले यस वर्ष १७५.५२ प्रतिशतको वृद्धि हासिल गरेको हो। एभरेस्ट बैंकले १ अर्ब २५ करोड २७ लाख रुपैयाँ कमाउँदै चौथो स्थान कायम गरेको छ। यसको नाफा ६.२३ प्रतिशतले बढेको छ।
प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरे पनि अघिल्लो वर्षको तुलनामा ५.६२ प्रतिशतको गिरावट बेहोरेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड १४ लाख रुपैयाँ कमाएको छ। गत वर्षको पहिलो त्रैमासमा ४ करोड ५० लाख रुपैयाँ मात्रै नाफा गरेको यस बैंकको कमाइ यस वर्ष २ हजार ५२२.४७ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको आधार निकै कम भएकाले यसको वृद्धिदर असाधारण देखिएको छ।
एनएमबी बैंकले १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यसरी पहिलो त्रैमासमा ९ वटा वाणिज्य बैंकले एक अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्।
अन्य बैंकमध्ये सिद्धार्थ बैंकले ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको तुलनामा यसको नाफा १६२.७५ प्रतिशतले बढेको हो। नेपाल बैंकले ८३ करोड २१ लाख रुपैयाँ कमाउँदै ४१.४५ प्रतिशतको वृद्धि हासिल गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ६७ करोड १४ लाख रुपैयाँ रहेको छ। तर यसको कमाइ गत वर्षको तुलनामा २.९९ प्रतिशतले घटेको छ।
हिमालयन बैंकले ६५ करोड ४८ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। हिमालयन बैंकको नाफा ६.८३ प्रतिशतले घट्दा लक्ष्मी सनराइजको भने ९६.६० प्रतिशतले बढेको छ। प्रभु बैंकले ६० करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.१० प्रतिशत बढी हो।
नेपाल एसबीआई बैंकको नाफा ५५ करोड २२ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकको ५५ करोड ११ लाख रुपैयाँ पुगेको छ। यी बैंकको नाफा क्रमशः १०.०९ र ३१.८६ प्रतिशतले बढेको हो। एनआईसी एसिया बैंकले १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको तुलनामा यसको नाफा ४.३२ प्रतिशतले मात्रै वृद्धि भएको छ। कृषि विकास बैंकले भने १० करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
अधिकांश बैंकको नाफा बढे पनि स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन र प्राइम कमर्सियल बैंकको कमाइ घटेको छ। अर्कोतर्फ सिटिजन्स बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ घाटा व्यहोरेकोमा यस वर्ष १० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। घाटाबाट नाफामा फर्किए पनि नाफाको रकमका आधारमा बैंक अझै सबैभन्दा पछाडि रहेको छ।
प्रोभिजनिङमा आएको कमीलाई बैंकहरूको नाफा वृद्धिको प्रमुख कारण मानिएको छ। कर्जा विस्तार सुस्त रहेको र त्योसँगै कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम समेत कम हुँदा बैंकको नाफामा वृद्धि देखिएको हो। तर कर्जा विस्तार र ब्याज आम्दानीमा अपेक्षित सुधार नआएसम्म यसलाई बैंकिङ क्षेत्रको व्यावसायिक विस्तारको बलियो संकेत मान्न सकिँदैन।