• २०८३ मंसिर ४
  • 2026 November 20, Friday

३४ सदस्यीय सरकारी टोलीसहित प्रधानमन्त्री आइतबार भारत जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणमा राजनीतिक भेटवार्तासँगै व्यापार, लगानी, ऊर्जा तथा पूर्वाधार विकासमा सहकार्य विस्तारलाई प्राथमिकता दिइने भएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत भ्रमणको कार्यतालिका सार्वजनिक गरेका हुन् । उनका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् । दुईदिने भ्रमण पूरा गरी मंसिर ७ गते साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तामा दुई देशबीचको व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासका विषयमा छलफल हुनेछ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासमा सहकार्य बढाउने विषयले पनि प्राथमिकता पाउनेछ । यी क्षेत्रसँग सम्बन्धित विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारीसमेत गरिएको छ ।

प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि उनीसँग भेटवार्ता गर्नेछन् । यसबाहेक प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यसूची पनि तय भएको छ । द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । त्यसपछि मोदीले आयोजना गर्ने औपचारिक दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् ।

निजी क्षेत्रको सहभागिता

यसपटकको भ्रमणमा सरकारी तहको सम्बन्धसँगै निजी क्षेत्रबीच व्यापार तथा लगानीका अवसर खोज्न पनि विशेष जोड दिइएको छ । यसका लागि नेपाल–भारत बिजनेस फोरम आयोजना गरिनेछ । कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन् । दुवै देशका व्यवसायीबीच लगानीको सम्भावना, व्यावसायिक चासो र आर्थिक साझेदारी विस्तारका उपायबारे छलफल हुनेछ ।

नेपालमा भारतीय लगानी भित्र्याउने तथा निजी क्षेत्रबीचको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले फोरम आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा नेपाल सरकारले लगानी विस्तारका लागि अघि सारेका नीतिगत प्रयासबारे पनि जानकारी गराइनेछ ।

प्रधानमन्त्रीको भ्रमणका लागि ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल गठन गरिएको छ । टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकार तथा विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधि पनि टोलीमा रहनेछन् ।

सरकारी प्रतिनिधिमण्डलबाहेक निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भारत जानेछन् । भ्रमणको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि निजी खर्चमै सहभागी हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

परराष्ट्र सचिव राईले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरमा निकट सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणले त्यसलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । भ्रमणबाट आर्थिक तथा विकास साझेदारीमा प्रगति हुनुका साथै दुवै देशका नागरिकले अनुभूति गर्न सक्ने उपलब्धि हासिल हुने मन्त्रालयको अपेक्षा छ ।

स्वदेश फर्किएपछि प्रधानमन्त्री शाहको भ्रमणका विषयवस्तु र उपलब्धिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराइनेछ ।