• २०८३ मंसिर ११
  • 2026 November 27, Friday

भारतीय दूतावासको सहयोगमा मुस्ताङमा विद्यालय भवन, शिक्षक आवास र छात्रावासको शिलान्यास

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासको आर्थिक तथा विकास साझेदारी अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित श्री जनबल माध्यमिक विद्यालयको नयाँ भवन, शिक्षक आवास र छात्रावास निर्माणको शिलान्यास गरिएको छ ।

नेपालस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डे र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले एक समारोहका बीच उक्त संरचनाहरूको संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ (HICDP) अन्तर्गत भारतीय दूतावासको प्रत्यक्ष समन्वय र आर्थिक सहयोगमा यी संरचनाहरू निर्माण हुन लागेका हुन् । भारतीय दूतावासका अनुसार मुस्ताङ जिल्लामा सञ्चालनमा आएको यो १८औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

दूतावासले नेपालको शैक्षिक तथा सामुदायिक पूर्वाधार विकासमा निरन्तर सहयोग पुर्‍याउँदै आएको सन्दर्भमा यो परियोजनाले हिमाली जिल्ला मुस्ताङका विद्यार्थी र शिक्षकहरूलाई गुणस्तरीय शिक्षा तथा आवासको सुविधा पुग्ने विश्वास लिइएको छ ।