• २०८३ भदौ २२
  • 2026 September 07, Monday

किन संसारको कुनै पनि नक्सा पूर्ण रूपमा सही हुँदैन?

संयुक्त राष्ट्रसंघले विश्वमा सबैभन्दा बढी प्रयोग हुने नक्सालाई परिवर्तन गर्न अपिल गरेको छ। नयाँ नक्साले महादेशहरूको वास्तविक आकारलाई अझ सही ढंगले देखाउने राष्ट्रसंघको भनाइ छ।

संयुक्त राष्ट्रसंघको महासभाले ‘करेक्ट द म्याप’ नामक प्रस्ताव पारित गरेको छ।

यसको उद्देश्य मर्केटर नक्सामा रहेको एउटा समस्या सच्याउनु हो। मर्केटर नक्सामा अफ्रिकाको आकार ग्रिनल्यान्डको करिब बराबर देखिन्छ। तर वास्तविकतामा अफ्रिका ग्रिनल्यान्डभन्दा करिब १४ गुणा ठूलो छ।

राष्ट्रसंघले ‘इक्वल अर्थ प्रोजेक्शन’ नामको नयाँ नक्सा अपनाएको छ। यसले विश्वका विभिन्न भूभागको वास्तविक आकारलाई तुलनात्मक रूपमा अझ सही ढंगले देखाउँछ। यद्यपि, यसका पनि केही सीमितता छन्।

गोलाकार पृथ्वीको सतहलाई समतल आयताकार नक्सामा सकेसम्म सही ढंगले देखाउने प्रयास धेरै वर्षदेखि हुँदै आएका छन्। तर हरेक विधिका आफ्नै फाइदा र सीमितता छन्।

सबैभन्दा प्रचलित मर्केटर नक्सामा केही देश किन साना देखिन्छन्?

मर्केटर म्यापलाई अहिले विश्वमा सबैभन्दा बढी प्रयोग हुने विश्व नक्सा मानिन्छ। यो सन् १५६९ मा बेल्जियमको फ्लेमिस क्षेत्रका जेरार्डस मर्केटरले बनाएका थिए।

युनिभर्सिटी कलेज लन्डनका कार्टोग्राफी प्राध्यापक जेम्स चेशायरका अनुसार यो नक्सा बनाउनुको मुख्य उद्देश्य युरोपेली नाविकहरूलाई समुद्रमा बाटो पत्ता लगाउन सहयोग गर्नु थियो।

उनले भने, “उनी चाहन्थे कि नक्सामा कोरिएको सीधा रेखाले कम्पासको दिशा पछ्याउँदा वास्तविक संसारमा पनि सोही दिशालाई सीधा रूपमा देखाओस्। नक्सा यही उद्देश्यका लागि बनाइएको थियो र यसले त्यो काम निकै राम्रोसँग गर्छ।”

समतल नक्सामा कोणहरूलाई सही राख्न मर्केटरले भूमध्यरेखाबाट ध्रुवतर्फ जाँदा ग्रिडका रेखाहरूबीचको दूरी बढाउनुपरेको थियो।

यहाँ बुझ्नुपर्ने कुरा के हो भने भूमध्यरेखा शून्य डिग्री अक्षांशमा रहेको एउटा काल्पनिक रेखा हो। यसले पृथ्वीलाई उत्तरी र दक्षिणी गोलार्धमा विभाजन गर्छ। त्यस्तै, पृथ्वीका सबैभन्दा उत्तरी र दक्षिणी बिन्दुलाई ध्रुव भनिन्छ।

मर्केटरले बनाएको नक्सामा पृथ्वीको गोलाकार स्वरूपलाई भूमध्यरेखा नजिकका देशहरू आफ्नो वास्तविक आकारभन्दा निकै साना देखाइएको छ।

त्यसको विपरीत ध्रुवनजिकका देशहरू तन्किएका र ठूलो आकारका देखिन्छन्।

यसको कारण गोलाकार पृथ्वीको सतहलाई दुई आयाम भएको समतल नक्सामा पूर्ण रूपमा सही ढंगले देखाउन सम्भव नहुनु हो।

मर्केटरले नक्सा बनाएको ४५० वर्षभन्दा बढी समय बितिसक्दा पनि आज धेरै नक्साहरूको आधार यही नक्सा बनेको छ।

विद्यालय, टेलिभिजन र इन्टरनेटमा देखाइने धेरै नक्सा यही प्रक्षेपणमा आधारित छन्। यसमा गुगल म्याप्स पनि पर्छ।

तर मर्केटर नक्साका आलोचकहरूका अनुसार यसमा केही भूभागलाई वास्तविक आकारभन्दा सानो र केहीलाई ठूलो देखाइन्छ। यसले मानिसहरूको सोचमा समेत प्रभाव पार्न सक्छ।

उनीहरूको तर्क छ- हामी प्रायः ठूला वस्तुलाई बढी महत्त्वपूर्ण ठान्छौँ। त्यसैले यस्तो नक्साले मानिसहरूको धारणा प्रभावित गर्न सक्छ।

केन्याका भूगोलविद् किओको मुएन्डोका अनुसार यसले अफ्रिकाका विशाल प्राकृतिक स्रोत, ठूलो जनसंख्या र लगानीका सम्भावनालाई अप्रत्यक्ष रूपमा कम महत्त्व दिएको छ।

उनले भने, “नक्साले यात्रुहरूलाई बाटो देखाउने काम मात्र गर्दैन। यसले कुनै क्षेत्रलाई राजनीतिक र आर्थिक दृष्टिले कसरी हेर्ने र बुझ्ने भन्ने कुरामा पनि प्रभाव पार्छ।”

इक्वल अर्थ म्याप: आकारको शुद्धता, तर अन्य चूनौति

इक्वल अर्थ नक्साको उद्देश्य मर्केटर प्रक्षेपणमा देखिने देशहरूको आकारसम्बन्धी समस्या हटाउनु हो।

यो नक्सा सन् २०१८ मा कार्टोग्राफरहरूको एउटा टोलीले तयार गरेको थियो। यसको उद्देश्य पृथ्वीका विभिन्न भूभागको आकार र क्षेत्रफललाई अझ सही ढंगले देखाउनु थियो।

यो सन् १९६३ को रोबिन्सन प्रक्षेपणबाट प्रेरित थियो। रोबिन्सन प्रक्षेपण यस्तो नक्सा हो, जसमा सम्पूर्ण पृथ्वीको सतहलाई एकैपटक देखाइन्छ।

यही कारण संयुक्त राष्ट्रसंघले अपनाउनुअघि फेब्रुअरीमा अफ्रिकी संघका सदस्य राष्ट्रहरूले पनि इक्वल अर्थ म्याप अपनाएका थिए।

यद्यपि, यसमा मर्केटर प्रक्षेपणलाई समुद्री मार्ग पत्ता लगाउन उपयोगी बनाउने ती सीधा रेखाहरू हुँदैनन्।

त्यसैगरी, यसबाट विभिन्न स्थानबीचको वास्तविक दूरी पनि सही रूपमा मापन गर्न सकिँदैन।

चेशायरले भने, “तपाईं क्षेत्रफललाई सही राख्न सक्नुहुन्छ, आकृतिलाई सही राख्न सक्नुहुन्छ वा दूरी र दिशालाई सही राख्न सक्नुहुन्छ। तर यी सबै कुरालाई एकैपटक पूर्ण रूपमा सही राख्न सकिँदैन। किनभने त्यसो गर्न खोज्दा तपाईं फेरि गोलाकार पृथ्वीमै फर्किनुपर्ने हुन्छ।”

पीटर्स ग्लोबल म्याप

पीटर्स ग्लोबल म्याप जर्मन इतिहासकार आर्नो पीटर्सले सन् १९७० को दशकको सुरुवातमा तयार गरेका थिए।

यो आयताकार नक्सा त्यस्तो प्रक्षेपणमा आधारित छ, जसको वर्णन सबैभन्दा पहिले स्कटल्यान्डका कार्टोग्राफर जेम्स गॉलले सन् १८५५ मा गरेका थिए।

यस प्रक्षेपणमा भूभागको आकृतिको शुद्धतामा केही सम्झौता गरिएको छ, तर क्षेत्रफललाई सही देखाउने प्रयास गरिएको छ।

यसका कारण ध्रुवनजिकका क्षेत्रहरू दबिएका देखिन्छन् भने भूमध्यरेखा नजिकका भूभागहरू तन्किएका देखिन्छन्। यसले ग्रिनल्यान्ड र अफ्रिकाको आकारसम्बन्धी समस्या धेरै हदसम्म समाधान गर्छ।

यो नक्साले विभिन्न भूभागको वास्तविक आकारलाई अझ राम्रोसँग तुलना गर्न मद्दत गर्छ। यसमा देशान्तर र अक्षांशका सीधा रेखाहरू पनि कायम रहन्छन्।

अक्षांश र देशान्तर पृथ्वीको सतहमा कुनै स्थानको सटीक स्थिति देखाउने काल्पनिक रेखाहरू हुन्। नक्सामा यी रेखाहरूलाई ग्रिडका रूपमा देखाइन्छ।

यद्यपि, पीटर्स म्यापमा पृथ्वीका भूभागको आकृति निकै विकृत हुन्छ। त्यसैले केही भूभाग वास्तविकताभन्दा फरक देखिन्छन्।

उदाहरणका लागि, रूस आफ्नो वास्तविक आकारभन्दा निकै सानो देखिन्छ।

पीटर्स म्यापमा रहेका सीधा रेखाहरूले पनि कम्पासले देखाउने वास्तविक स्थिर दिशा जनाउँदैनन्। त्यसैले यसलाई नौवहनका लागि प्रयोग गर्न सकिँदैन।

उल्टो र फरक ढंगले बनाइएका नक्सा

कुनै भूभाग नक्सामा कत्रो देखिन्छ भन्ने कुराले मानिसहरूको नजरमा त्यसको महत्त्वलाई प्रभावित गर्न सक्छ। त्यसैगरी, नक्सामा त्यो भूभाग कहाँ राखिएको छ भन्ने कुराले पनि प्रभाव पार्न सक्छ।

केही कार्टोग्राफरहरूले दक्षिणलाई माथितर्फ देखाउने गरी नक्सा बनाउने प्रयास गरेका छन्। यसको उद्देश्य ग्लोबल साउथलाई नक्साको तल्लो भागमा देखाइने भएकाले त्यसलाई कम महत्त्वपूर्ण ठान्ने धारणालाई चुनौती दिनु हो।

विश्वका विभिन्न भागमा नक्साको केन्द्रमा कुन महादेशलाई राख्ने भन्ने कुरा पनि फरक हुन सक्छ।

यस्ता वैकल्पिक नक्साले विश्वलाई हेर्ने फरक दृष्टिकोण प्रस्तुत गर्छन्। यो दृष्टिकोण सामान्य रूपमा प्रयोग हुने नक्साभन्दा फरक हुन्छ।

तर यस्ता नक्साले कुनै भूभागलाई बढी प्रमुख देखाउने समस्या समाधान गर्दैनन्। तिनले नक्साको केन्द्र र प्राथमिकता मात्र परिवर्तन गर्छन्।

कुनै देशलाई केन्द्रमा नदेखाउन ध्रुवकेन्द्रित म्याप

नक्साको बीचमा कुन भूभाग राख्ने र त्यसका कारण कुन क्षेत्र सबैभन्दा प्रमुख देखिने भन्ने समस्याको एउटा समाधान कुनै पनि भूभागलाई केन्द्रमा नराख्नु हो।

संयुक्त राष्ट्रसंघको लोगोमा रहेको नक्सा पनि यही सिद्धान्तमा आधारित छ।

यसमा विश्वलाई उत्तरी ध्रुव वरिपरि केन्द्रित गरेर देखाइएको छ। महादेशहरू त्यहाँबाट बाहिरतर्फ फैलिएका देखिन्छन्।

यसलाई ‘अजिमुथल इक्विडिस्टेन्ट प्रोजेक्शन’ भनिन्छ।

यस प्रकारको नक्सामा विश्वका विभिन्न भागलाई एउटा केन्द्रबिन्दुको वरिपरि गोलाकार रूपमा देखाइन्छ। ग्लोबमा कुनै स्थान केन्द्रबिन्दुबाट जति टाढा हुन्छ, नक्सामा त्यसको घेरा पनि त्यति नै ठूलो हुँदै जान्छ।

यस्तो नक्सामा केन्द्रबाट हेर्दा सबै बिन्दुको ‘अजिमुथ’ अर्थात् क्षैतिज दिशा सही रूपमा कायम रहन्छ।

तर गोलाकार पृथ्वीको सम्पूर्ण सतहलाई गोलाकार नक्सामा देखाउँदा केही विकृति आउँछ। नक्सामा केन्द्रबाट दूरी बढ्दै जाँदा यस्तो विकृति पनि बढ्दै जान्छ।

उदाहरणका लागि, संयुक्त राष्ट्रसंघको नक्सामा दक्षिणी ध्रुवनजिकका क्षेत्रहरू दबिएका र तन्किएका देखिन्छन्।

यसको कारण उत्तरी ध्रुव वरिपरि समान परिधि भएको घेराको तुलनामा दक्षिणी ध्रुवतर्फको घेरा निकै ठूलो हुँदै जानु हो।

(बीबीसीबाट)