• २०८३ असोज १
  • 2026 September 17, Thursday

क्यान महासंघको नाम र छाप अनधिकृत प्रयोग भएको भन्दै कानुनी कारबाहीको चेतावनी

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले संस्थाको नाम, लेटरहेड, छाप तथा दर्ता-चलानी नम्बरको अनधिकृत प्रयोग गरी पत्राचार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था एवं सरकारी निकायहरूमा अनधिकृत रूपमा पत्राचार भइरहेको जानकारी दिएको छ।

क्यान महासंघका अनुसार संस्थाको आधिकारिक पत्राचार विधान, संस्थागत निर्णय र सचिवालयको निर्धारित प्रक्रियाअनुसार अधिकारप्राप्त निकायबाट मात्र हुने व्यवस्था रहेको छ। विधानविपरीत जारी गरिएका कुनै पनि पत्र, निर्णय वा सूचना महासंघको आधिकारिक धारणा वा निर्णय नरहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ।

महासंघले संस्थाको लेटरहेड र छापको अनधिकृत प्रयोग तत्काल रोक्न सम्बन्धित सबैलाई सचेत गराएको छ। यस्ता गतिविधि पुनः दोहोरिएमा वा संस्थाको प्रतिष्ठा र कामकारबाहीमा असर परेमा दोषीविरुद्ध महासंघको विधान तथा प्रचलित कानूनबमोजिम आवश्यक संस्थागत र कानुनी कारबाही अघि बढाउने चेतावनी दिइएको छ।

साथै, महासंघको नामबाट प्राप्त हुने कुनै पनि पत्राचार वा निर्देशनको सत्यतथ्य र आधिकारिकता सचिवालयबाट पुष्टि गरेर मात्र कार्यान्वयनमा ल्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, सरकारी निकाय, सदस्य संस्था एवं सम्पूर्ण सरोकारवालाहरूमा अनुरोध गरिएको छ।