• २०८३ असोज २१
  • 2026 October 07, Wednesday

जेनजी र विपक्षी आन्दोलन: भारतमा किन तीव्र बन्दैछ विरोधको स्वर?

दिल्लीमा कांग्रेस नेता राहुल गान्धी र कांग्रेस सांसद प्रियंका गान्धी, उत्तर प्रदेशमा समाजवादी पार्टी तथा मुम्बईमा ककरोच जनता पार्टीका नेता अभिजीत दीपके र शिवसेना (यूबीटी) का नेता उद्धव ठाकरे विरोध प्रदर्शन गरिरहेका छन्।

यतिबेला एसआईआर र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई पदबाट हटाउनुपर्ने माग गर्दै देशका विभिन्न भागमा विरोध प्रदर्शन भइरहेका छन्। यी प्रदर्शनमा ठूलो संख्यामा जेनजी अर्थात् नयाँ पुस्ताका युवाहरू सहभागी छन्।

यसअघि नीट परीक्षाको प्रश्नपत्र चुहावटलाई लिएर ककरोच जनता पार्टीले दिल्लीको जन्तर-मन्तरमा प्रदर्शन गरेको थियो र जुलाई महिनामा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपरेको थियो।

पछिल्ला केही दशकमा सायदै कुनै आन्दोलनको भाषा यति छोटो समयमा यति तीव्र रूपमा बदलिएको थियो, जति पछिल्ला केही महिनामा बदलिएको छ।

भारतले धेरै ठूला आन्दोलनहरू देखेको छ। तीमध्ये धेरै आन्दोलनको प्रभाव समाजका सबै वर्गमा परेको थियो। तर के यसपटक केही फरक भइरहेको छ?

अभिजीत दीपकेको टिप्पणीले राजनीतिक विश्लेषक पनि अचम्ममा

यस्तै एउटा आन्दोलन त्यतिबेला भएको थियो, जब दिल्लीमा चलिरहेको बसभित्र एक युवतीमाथि बलात्कार भएको विरोधमा ठूलो संख्यामा युवाहरू सडकमा उत्रिएका थिए। त्यसपछि दशकौँ पुराना बलात्कारसम्बन्धी कानुनमा पहिलोपटक ठूला परिवर्तन गरिएको थियो।

त्यसैगरी, गान्धीवादी नेताको नेतृत्वमा भ्रष्टाचारविरुद्ध पनि एउटा ठूलो आन्दोलन भएको थियो।

तर पछिल्ला १२ वर्षमा पहिलोपटक, विगत तीन-चार महिनाको अवधिमा सार्वजनिक मञ्चबाट यस्ता कुराहरू भनिएका छन्, जुन बोल्ने साहस विपक्षका ठूला नेताहरूले समेत गरेका थिएनन्।

यी कुरा जन्तर-मन्तर वा अन्य स्थानमा उपस्थित सर्वसाधारण युवाहरूले भनिरहेका छन्। ककरोच जनता पार्टी अर्थात् सीजेपी स्थापना गरेर अचानक चर्चामा आएका अभिजीत दीपकेजस्ता नेताहरूले पनि यस्तै कुरा गरिरहेका छन्।

गत साता मुम्बईको शिवाजी पार्कमा एउटा जनसभालाई सम्बोधन गर्दै दीपकेले यस्तो कुरा भने, जसले अनुभवी राजनीतिक विश्लेषकहरूलाई समेत अचम्ममा पार्‍यो।

उनले भने, “म एउटा गरिब आमाको छोरा हुँ। तिम्रो कारण सबै बच्चाहरू गरिब आमाका छोरा भएका छन्।”

त्यसपछि उनले भारतका सबैभन्दा शक्तिशाली गृहमन्त्री अमित शाहलाई लक्षित गर्दै अर्को टिप्पणी गरे।

दीपकेले अमित शाहलाई उनलाई पक्राउ गरेर देखाउन चूनौती दिए। उनले शाहको पनि त्यही अवस्था हुने बताए, जुन धर्मेन्द्र प्रधानको भएको थियो।

देशमा के भइरहेको छ?

“देशका युवाको जोश अब मोडिँदैछ। अब उनीहरू पहिलेको जस्तै अवस्था कायम रहोस् वा हातमा हात राखेर बसिरहनुपरोस् भन्नेमा सन्तुष्ट छैनन्,” अनुभवी राजनीतिक विश्लेषक सञ्जीव श्रीवास्तवले भने, “हामीलाई लाग्थ्यो, भारत यस्तो समाज हो, जसले विद्यमान परिस्थितिमा परिवर्तन चाहँदैन। तर पछिल्ला केही महिनादेखि यो परम्परा टुटिरहेको छ।”

पछिल्ला १२ वर्षमा भएका सबैजसो आन्दोलन केही विशेष समुदायमा सीमित थिए। यसमा तीनवटा कृषि कानुन फिर्ता लिनुपर्ने मागसहित भएको किसान आन्दोलन पनि पर्छ।

किसानहरूलाई सरकारले उनीहरूको उत्पादनका लागि न्यूनतम समर्थन मूल्य अर्थात् एमएसपी नदिने डर थियो। त्यसपछि अन्तर्राष्ट्रिय कम्पनी र निजी व्यापारीमाथि निर्भर हुनुपर्ने अवस्था आउने उनीहरूको चिन्ता थियो।

नागरिकता संशोधन कानुनविरुद्ध भएको आन्दोलन पनि एउटा समुदायमा केन्द्रित थियो। यो आन्दोलन देशभर फैलिएको थियो र यसमा ७६ जनाको मृत्यु भएको थियो।

यो किसान आन्दोलनजस्तो करिब एक वर्षसम्म चलेन। तर पनि यो आन्दोलन चार महिनासम्म जारी रह्यो। कोरोना महामारी आएपछि आन्दोलन गरिरहेका महिलाहरू आफ्नो घर फर्किए।

अनुभवी राजनीतिक विश्लेषक आरती जेरथ अहिले देखिएको फरकपन त्यसभन्दा पनि अगाडिको विषय रहेको बताइन् ।

“आज सडकमा उत्रिने मानिसहरू बीजेपीका मतदाताका छोराछोरी हुन्। मध्यम र निम्न मध्यम वर्गका उनीहरूका अभिभावकले बीजेपीलाई भोट दिएका थिए। यस वर्गमा महिलाको ठूलो मत पनि समावेश थियो। यी महिलाहरू विशेषगरी नरेन्द्र मोदीको समर्थनको आधार बनेका थिए।”

यी आन्दोलनमा ठूलो संख्यामा महिलाहरू सडकमा उत्रिएपछि सरकार पूर्ण रूपमा हल्लिएको उनको तर्क छ।

“सरकार यसअघिका आन्दोलनहरू व्यवस्थापन गर्न सफल भएको थियो। तर अहिले यही समूह शिक्षा, रोजगारी र बेरोजगारीजस्ता आधारभूत मुद्दामा सरकारविरुद्ध उभिएको छ,” उनले भनिन्, “यी यस्ता मुद्दा हुन्, जसको प्रभाव देशभरका आम मानिसमा पर्छ। यसको असर हरेक लिङ्ग र हरेक जातिका मानिसमा पर्छ।”

राजनीतिक र आर्थिक मामिलाका अर्का अनुभवी विश्लेषक माधवन नारायणन पनि केही हदसम्म आरती जेरथसँग सहमत छन्।

उनले भने, “समग्र राजनीतिक संवादमा बिस्तारै खुलेर बोल्ने साहस बढिरहेको छ। यसको एउटा कारण प्राविधिक रूपमा देशमा एनडीएको सरकार हुनु हो, केवल बीजेपीको होइन।”

यही कारण राजनीतिक वर्गमा सत्ताविरोधी वातावरणलाई लिएर एक प्रकारको आशा देखिएको उनको भनाई छ।

उनले भने, “तर यही वातावरणबीच हामीले भारतका प्रधानन्यायाधीश न्यायमूर्ति सूर्यकान्तले ‘ककरोच’ शब्द प्रयोग गरेको पनि देख्यौँ। यसले राजनीतिक संवादको स्तरलाई अझ तल झारेको छ।”

प्रधानन्यायाधीश सूर्यकान्तले जेनजीको दुखेको ठाउँमा हात हालिदिएको र त्यही समयमा नीट परीक्षामा प्रश्नपत्र चुहावटको मुद्दा आउँदा दुवै घटनाले दुई संवेदनशील मुद्दालाई छोएको उनको तर्क छ।

उनले भने, “पहिलो कुरा, तपाईं एउटा निश्चित प्रकारको सक्रियतालाई लोकतान्त्रिक गतिविधि मान्नुको सट्टा परजीवी गतिविधि भनिरहनुभएको छ। त्यसबाहेक युवाहरू र निम्न मध्यम वर्गमा वास्तवमै चिन्ता छ। राजनीतिले त्यतिबेला सधैँ तीव्र मोड लिन्छ, जब निम्न मध्यम वर्ग असन्तुष्ट हुन्छ। यही असन्तुष्टिले अभिजीत दीपकेको रूपमा एउटा अनुहार पाएको छ।”

नारायणनका अनुसार यी सबैबाहेक मतदाता सूचीको विशेष गहन पुनरीक्षण अर्थात् एसआईआरले पनि आधारभूत प्रश्नहरू खडा गरेको छ।

उनले १३ करोड मतदाताको मतदान गर्ने अधिकार खोसिएपछि यो प्रश्न उठेको र यसलाई मौलिक अधिकारसँग जोडिएको बताए।

उनले भने, “यसले यो आन्दोलनलाई समाजमा स्वीकार्यता दिइरहेको छ। यसको परिणामस्वरूप भाषा अझ स्पष्ट र निर्भीक भएको छ। यो परिवर्तन मागहरूमा मात्र होइन, ती मागका लागि प्रयोग भइरहेको भाषामा पनि देखिन्छ।”

सरकारको प्रतिक्रिया र अनिश्चितता

बदलिँदो परिस्थितिसँग जुध्न सरकारसँग पहिले नै तयार कुनै उपाय वा प्रभावकारी जवाफ छैन।

पछिल्ला १० देखि १२ वर्षमा अपनाइएका तरिका अब त्यति प्रभावकारी साबित भइरहेका छैनन्। कतिपय अवस्थामा तिनको उल्टो असर पनि पर्न सक्छ। यसको उदाहरणका रूपमा दिल्लीको जन्तर-मन्तरलाई उल्लेख गरिएको छ।

के यस्ता आन्दोलनले देशको राजनीति बदल्न सक्छन्?

सञ्जीव श्रीवास्तवले भने, “यो पुस्तालाई नयाँ पुस्ता, जेनजी वा जेन अल्फा जे भने पनि हुन्छ, यसले पहिले नै तय गरिएका हरेक नियमलाई चूनौती दिइरहेको छ। तपाईं यो परिवर्तन देख्न पनि सक्नुहुन्छ र महसुस पनि गर्न सक्नुहुन्छ।”

उनले यसको पछाडि सामाजिक र आर्थिक कारण, निराशा र अगाडि बढ्ने आशा- सबै कुरा समावेश रहेको बताए।

“बदलिँदो परिस्थितिसँग जुध्न सरकारसँग पहिले नै तयार कुनै उपाय वा प्रभावकारी जवाफ छैन। पछिल्ला १० देखि १२ वर्षमा प्रयोग गरिएका पुराना तरिका अब कम प्रभावकारी साबित भइरहेका छन्। कतिपय अवस्थामा तिनको उल्टो असर पनि हुन सक्छ, जुन जुलाईमा जन्तर-मन्तरमा देखियो,” उनले भने।

विशेषगरी उत्तर, पश्चिम र मध्य भारतका युवामाझ यसको प्रभाव घटिरहेको उनको बुझाई छ।

“विशेषगरी उत्तर, पश्चिम र मध्य भारतका युवामाझ यसको प्रभाव घटिरहेको छ। दक्षिण भारतमा यसको प्रभावको सीमा यसअघि नै देखिइसकेको थियो। अब युवाहरू आफ्ना सर्त आफैँ तय गरिरहेका छन्। तर अहिले नै यसबारे कुनै निष्कर्ष निकाल्नु हतार हुनेछ,” उनले भने।

आरती जेरथले सरकारलाई यी परिस्थितिसँग कसरी जुध्ने भन्ने बुझ्न कठिन भइरहेको बताइन्।

उनका अनुसार जेनजीसँग जोडिने धेरै प्रयास भइरहेका छन्। उदाहरणका लागि आरएसएसले पनि यस्तो प्रयास गरिरहेको छ।

सबै पार्टीलाई जेनजी चाहिएको छ

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि जेनजीलाई आकर्षित गर्ने योजना घोषणा गरेका छन्।

तर जेरथलाई एउटा कुरा अचम्म लागेको छ- जब देशमा रोजगारी र लगानीको आवश्यकता छ, त्यतिबेला भारतका केही कम्पनीले यहाँ आफ्ना स्टिल प्लान्ट बन्द गरेर अमेरिकामा स्थापना गरिरहेका छन्।

उनले भनिन्, “त्यसैले सरकारले यसलाई कसरी रोक्न सक्छ भन्ने कुरा मलाई वास्तवमै थाहा छैन। म यति मात्र भन्न सक्छु कि अर्को वर्ष केही चुनाव हुँदैछन्। यसमा विशेषगरी उत्तर प्रदेशको चुनाव पनि समावेश छ। मेरो विचारमा यही चुनावले बीजेपी र विपक्ष कहाँ उभिएका छन् भन्ने कुराको वास्तविक परीक्षा लिनेछन्। त्यसैले कुनै निष्कर्ष निकाल्नुअघि हामीले यी चुनावको प्रतीक्षा गर्नुपर्ने हुन्छ।”

(बीबीसी हिन्दीबाट)