काठमाडौं । भोटेकोशी-त्रिशूली नदी प्रणालीमा आएको बाढी र पहिरोका कारण प्रभावित क्षेत्रमा करिब २२ लाख टन गेग्रान थुप्रिएको प्रारम्भिक अनुमान गरिएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले गरेको प्रारम्भिक मूल्याङ्कनले विपद्को विनाशको स्तर निकै ठुलो रहेको देखाएको हो।
यूएनडीपीका अनुसार भदौ १० मा हिमनदी टुक्रिएपछि आएको आकस्मिक बाढीले पानीसँगै माटो, ढुंगा र अन्य सामाग्री बगाएर नदी आसपासका बस्तीमा ठुलो क्षति पुर्याएको थियो। यूएनडीपीले सरकारी विवरणको हवाला दिँदै ६ जिल्लाका १७ स्थानीय तहमा ८४ हजार २७० जना प्रभावित भएको, १ हजारभन्दा बढीको मृत्यु भएको, ४ हजारभन्दा बढी मानिस बेपत्ता रहेको र हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको उल्लेख गरेको छ।
बाढी तथा पहिरोबाट जलविद्युत् र ऊर्जा संरचनामा समेत गम्भीर क्षति पुगेको छ। ४३१.१ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना र एउटा सौर्य विद्युत् आयोजना सञ्चालनमा आउन नसकेको यूएनडीपीले उल्लेख गरेको । यस्तै, निर्माणाधीन अवस्थामा रहेका थप १५ वटा विद्युत् आयोजनामा पनि क्षति पुगेको र ती आयोजनाको कुल प्रस्तावित उत्पादन क्षमता ४७० मेगावाट रहेको यूएनडीपीको तथ्यांक छ।
यूएनडीपीको मूल्याङ्कनले विपद्को असर यसअघि नै जीविकोपार्जन, आधारभूत सेवा र जीवनयापनका दृष्टिले कमजोर अवस्थामा रहेका समुदायमा बढी परेको छ। प्रभावितमध्ये करिब ७५ प्रतिशत मानिस तुलनात्मक रूपमा बढी जोखिममा रहेका क्षेत्रमा बसोबास गर्ने गरेको प्रारम्भिक विश्लेषणमा उल्लेख छ।
“प्रभावित अधिकांश स्थानीय तह ग्रामीण तथा पहाडी क्षेत्रमा पर्छन्। ती क्षेत्रमा ६७.४ प्रतिशत मानिस कृषि क्षेत्रमा निर्भर रहेको तथ्यांकले देखाउँछ। बाढीले खेतीयोग्य जमिन, बाली तथा पशुधनमा क्षति पुर्याएकाले कृषि आश्रित परिवारको आम्दानी र खाद्य सुरक्षामा लामो समयसम्म असर पर्न सक्ने छ,” यूएनडीपीले भनेको छ।
विपद्को समय पनि कृषकका लागि थप चूनौतीपूर्ण देखिएको छ। नेपालको मुख्य मनसुनमा बाली लगाउने अवधि जुनदेखि सेप्टेम्बरसम्म हुने भएकाले बाढीले खेतबारी र कृषि गतिविधिमा पुर्याएको क्षतिले आगामी उत्पादनमा समेत असर पार्न सक्ने आकलन गरिएको छ।
यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकोलाई उद्धृत गर्दै संस्थाले त्रिशूली करिडोर आसपासका परिवारले आफन्त, घर र जीविकोपार्जन गुमाएको तथा समुदायहरू अत्यावश्यक सेवा र आपसी सम्पर्क पुनःस्थापित गर्न संघर्ष गरिरहेको जनाएको छ। तत्कालको उद्धार तथा राहतसँगै पुनःस्थापना र पुनर्निर्माण सबैभन्दा बढी प्रभावित समुदायको आवश्यकता र सुरक्षालाई केन्द्रमा राखेर अघि बढाउनुपर्नेमा उनले जोड दिएकी छन्।
यूएनडीपीले भग्नावशेषको मात्रा र स्थान पहिचान गर्न भू-उपग्रहबाट गरिएको भवन क्षति मूल्याङ्कनसहित उपलब्ध अन्य तथ्यांक तथा स्थानीय अवस्थाअनुकूल प्राविधिक अनुमानलाई एकीकृत गरेको जनाएको छ। यो प्रारम्भिक मूल्याङ्कन थप सूचना प्राप्त हुँदै गएपछि परिमार्जन हुने बताइएको छ।
प्रारम्भिक विवरण अनुसार करिब २२ लाख टन भग्नावशेषमध्ये भवनहरूबाट मात्रै करिब ५ लाख ५६ हजार २०० टन सामग्री निस्किएको अनुमान छ। भू-उपग्रहबाट गरिएको क्षति मूल्याङ्कनमा २ हजार ३५९ वटा भवन समेटिएका छन्। थप क्षतिहरू पहिचान हुँदै जाँदा भवनजन्य भग्नावशेषको परिमाण पनि बढ्न सक्ने यूएनडीपीको भनाइ छ।
भग्नावशेषमा भत्किएका भवनका संरचना, घरायसी सामान, वनस्पति, ढुंगा र नदीले बगाएर ल्याएको माटो तथा अन्य सामग्री समावेश छन्। यसको ठुलो परिमाणले उद्धार र राहतपछि पनि प्रभावित बस्तीलाई घर, सडक तथा सार्वजनिक स्थान सफा गरेर पुनर्निर्माण सुरु गर्न कति ठुलो चूनौती छ भन्ने देखाउने यूएनडीपीले बताएको छ ।
भग्नावशेषका कारण उद्धार कार्यसमेत जोखिमपूर्ण बनेको छ। भत्किएका संरचना र माटोको थुप्रोमुनि मानिस फसेको वा बेपत्ता रहेको हुन सक्ने भएकाले खोज तथा उद्धार टोलीलाई कठिन परिस्थितिमा काम गर्नुपरेको छ।
ऊर्जा पूर्वाधारमा भएको क्षतिले विद्युत् आपूर्तिसमेत प्रभावित हुँदा प्रभावित समुदायमा आधारभूत सेवा पुनःस्थापना गर्ने काम थप जटिल बनेको छ। यूएनडीपीले प्रारम्भिक मूल्याङ्कनलाई विपद्पछिको तत्काल पुनःस्थापना तथा दीर्घकालीन पुनर्निर्माण योजना बनाउन सरकार र सम्बन्धित साझेदारलाई तथ्यमा आधारित निर्णय लिन सहयोग गर्ने आधारका रूपमा प्रयोग गरिने जनाएको छ।